म्यानमारको चुनावमा चरम सैन्य दमन : राष्ट्र संघ

चुनाव अवधिमा भएका हवाई आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

म्यानमारको हप्तौँ लामो चुनाव अवधिमा भएका सैन्य हवाई आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकार कार्यालयले विश्वसनीय स्रोतलाई हवाला दिँदै चुनावको अवधिमा ठुलो संख्यामा मानिस मारिएका जनाएको हो । गत हप्ताको अन्त्यसम्म ४०८ सैन्य हवाई आक्रमण भएको राष्ट्र संघले जनाएको छ । धेरै देश र मानव अधिकार समूहले चुनावमा पहिले नै व्यापक रूपमा धाँधली भएको भन्दै त्यसको निन्दा गरिसकेका छन् ।

म्यानमारको सेनाको समर्थनमा रहेको युनियन एन्ड सोलिडारिटी पार्टी (युएसडिपी)ले भारी जित हासिल गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन् । देशको ठुलो भागमा मतदान सम्भव थिएन, तसर्थ सरकारले धाँधलीपूर्ण रूपमा निर्वाचन गरेको पर्यवेक्षक समूहले बताउँदै आएका छन् । म्यानमार सैन्य विद्रोहबाट गृहयुद्धमा फसेको छ । सन् २०२१ मा लोकतान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सुकीलाई पदच्युत गरी जेल हालिएको थियो ।

सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले कु हुनुअघिका दुई चुनावमा भारी बहुमतले जितेको थियो । तर, पछिल्लो निर्वाचनमा उनको पार्टीलाई मतदानमा भाग लिन अनुमति दिइएको थिएन । धेरैको विश्वास छ कि सैन्य जुन्टाले प्रोक्सी राजनीतिक दलमार्फत आफ्नो शक्ति कायम राख्न मतदानको प्रयोग गर्नेछ । संयुक्त राष्ट्रसंघीय अधिकार प्रमुख भोल्कर टर्कले जारी गरेको एक विज्ञप्तिमा चुनावलाई ‘सेनाद्वारा प्रायोजित घटनाक्रम’ भनेर वर्णन गरे । ‘विपक्षी उम्मेदवार र केही जातीय समूहलाई डिसेम्बर २८ मा पहिलो चरणमा भएको चुनावमा भाग लिनबाट वञ्चित गरिएको उनले औँल्याए । टर्कका अनुसार डरका कारण धेरैजसो मानिसले मतदानमा सहभागी नहुने निर्णय गरेका छन् ।

यसैबिच, देशका ठुला भागमा द्वन्द्व र असुरक्षा निरन्तर जारी रहेको राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकारको म्यानमार टोलीका प्रमुख जेम्स रोडेहभरले सैन्य हमलामा नागरिकको मृत्युको तथ्यांक डिसेम्बरमा अभियान सुरु हुनेबिचको अवधिदेखि जनवरीको अन्त्यतिरको अन्तिम मतदान दिनसम्मको अवधिमा निकालिएको बताए । समाचार एजेन्सी एएफपीका अनुसार खुला स्रोतबाट आएका तथ्यांक हाल अपूर्ण हुने सम्भावना छ, किनभने विभिन्न क्षेत्रको सञ्चारविच्छेद गरिएको छ र ती स्थानका मानिस कुरा गर्न डराउँछन् । पहिलो चरण डिसेम्बर २८ मा र दोस्रो चरण जनवरी ११ मा निर्वाचन सम्पन्न भएको थियो । नयाँ सरकारले अप्रिलमा पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ । आइतबार तेस्रो चरणको निर्वाचन सम्पन्न भएको थियो ।

चरणबद्ध ढंगमा भएकोे चुनाव खासमा सेनाको नियन्त्रणमा रहेको भागमा मात्र सम्पन्न गरिएको थियो । सेनाविरुद्ध लडिरहेका समूहले कब्जा गरेका भूभागमा चुनाव हुन सकेन । त्यसैले धेरै योग्य मतदाता मताधिकारबाट वञ्चित भए । सेनाको प्रतिनिधि ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी)’ले तल्लो सदनका २६३ मध्ये २३२ र माथिल्लो सदनका १५७ मध्ये १०९ सिटमा सहज जित हासिल गर्यो ।  नागरिक र राजनीतिक पार्टीलाई निर्वाचनमा रोक लगाएर गरिएकोे निर्वाचन आफैँमा ‘फौजदारी अपराध’ भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । इलेक्ट्रोनिक–भोटिङ मेसिनमार्फत गराइएको निर्वाचनमा प्रतिबन्धित पार्टीलाई मत हाल्न सक्ने कुनै व्यवस्था थिएन । 

सुझावित समाचार