भन्सार र नापीका कर्मचारी घुससहित पक्राउ

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

कुरियरमार्फत विदेशमा सामान पठाउँदा घुस माग्ने भन्सार र हुलाकमा कार्यरत तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई आइतबार नियन्त्रणमा लिएको हो । कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रकम आयोगले बरामद गरेको छ । उनको सोही घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० र उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ बरामद भएको आयोगले जनाएको छ । अधिकृत न्यौपानेकै मिलेमतोमा कार्यालय सहयोगी पुडासैनीले घुस लिँदै आएको आयोगको दाबी छ । 

त्यस्तै, हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय पार्सल शाखा, डिल्लीबजार काठमाडौंमा कार्यरत नायब सुब्बा रिजालको साथबाट २० हजार घुसबापतको रकम बरामद भएको छ । थप स्रोत नखुलेको रकमसमेत गरेर उनीसँग दुई लाख ६८ हजार ८४८ रुपैयाँ भेटिएको आयोगले जनाएको छ ।

कर्मचारी र घुस दिने व्यक्तिको १८ वटा मोबाइल पनि जफत गरी अनुसन्धान थालिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । हुलाकको कार्गाेमा खुलेआम घुसखोरी मौलाएको गुनासोका आधारमा आयोगले निगरानी गरी प्रमाण संकलन गरेर आइतबार स्टिङ अप्रेसन गरेको हो । 

See More On

सुझावित समाचार