खानेतेल र चामलको मूल्य वृद्धि

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण

बजारमा खानेतेल र चामलको मूल्यवृद्धि भएको छ । खुद्रा व्यवसायीका अनुसार खानेतेल प्रतिकार्टुन दुई सय ६५ रुपैयाँ, जिरा मसिनो चामल प्रतिबोरा एक सय र लङग्रेन चामल प्रतिबोरा दुई सय रुपैयाँसम्म बढेको छ ।

खुद्रा बजारमा १५ दिनअघि सनफ्लावर तेल प्रतिकार्टुन २३ सय ८५ रहेकोमा अहिले बढेर २६ सय ५० रुपैयाँ पुगेको छ । यसले खुद्रा बजारमा सनफ्लावर तेल प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ । विगतमा प्रतिलिटर दुई सय ४० रहेको सनफ्लावर तेल बढेर दुई सय ६० रुपैयाँ पुगेको छ । भटमासको तेलको मूल्य पनि सोही हाराहारी रहेको छ । नेपाली बजारमा बैभन्दा धेरै सनफ्लावर तेल खपत हुने गरेको छ ।

जिरा मसिनो चामल पनि बोरामा एक सय रुपैयाँसम्म बढेर १८ सय ५० देखि दुई हजारसम्म पुगेको छ । लङग्रेन चामलको मूल्य प्रतिबोरा २५ सयदेखि ३१ सयसम्म पुगेको छ ।

थोक व्यवसायीको संगठन खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बाह्य कारणले खानेतेल र चामलको मूल्य बढेको बताए । ‘अहिले भारतमा तेलको मूल्य धेरै छ, त्यसैले नेपालबाट भारततर्फ धेरै तेल निर्यात हुँदा यहाँ आपूर्तिमै समस्या हुन लागिसक्यो,’ उनले भने । भारतले अहिले तेल आयात खुला गरेकाले नेपालबाट धेरै निर्यात भइरहेको उनले बताए । ‘यहाँ मूल्य बढाएर भए पनि निर्यात रोक्न सकिन्छ भन्ने उद्देश्य हो । तर, लामो समयसम्म मूल्य बढाएर होल्ड गर्ने नीति होइन,’ उनले भने ।

भारतले केही समयमा तेल आयातका लागि कोटा तोक्ने वा आयातमै कडाइ गर्ने नीति लिन लागेकाले तेलको मूल्य नेपाली बजारमा सुधार हुने उनले बताए । त्यस्तै, धान मिलहरूले अहिले मागअनुसार कुटानी गर्न नसकिरहेकाले चामलको मूल्यमा चाप परेको उनको भनाइ छ । ‘धान मिलहरू क्षमताअनुसार चल्नै सकेका छैनन् । कात्तिक र मंसिरमा निस्किएको नयाँ धान पनि सकियो,’ उनले भने, ‘त्यसैले अहिले मूल्यमा चाप परेको हो ।’ अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल र चामलको मूल्य विश्लेषण गर्ने गरी बजार अनुगमन भइरहेको जनाएको छ ।

विभागका महानिर्देशक रोशन ज्ञवालीले खाने तेलको मूल्य बढेकोबारे बजार मूल्य संकलन गरेर अध्ययन थालिएको बताए । त्यस्तै, चामलको मूल्य वृद्धिबारे पनि गुनासो आएकाले अनुगमनलाई तीव्रता दिइरहेको बताए । यद्यपि, मूल्य नियन्त्रणका लागि विभागको भूमिका नरहेको उनले बताए ।

‘उपभोक्ता संरक्षण ऐनमा उत्पादकले तोकेको मूल्य नै अन्तिम मूल्य हुने उल्लेख छ र मूल्य नियन्त्रणका लागि अन्य कानुन छैनन्,’ उनले भने, ‘त्यसैले बजारभाउमा सोझै हस्तक्षेप गर्न सक्दैनौँ । तर, यथोचित कारण पत्ता लगाएर कृत्रिम मूल्यवृद्धि हुन नदिने गरी अनुगमन संयन्त्र परिचालन गर्र्छौँ ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले विभिन्न बहाना बनाएर समय–समयमा खाद्यान्नको मूल्य बढाउनु उपभोक्ताहितविपरीत रहेको बताए । उनले मूल्यवृद्धि प्रतिसरकारी निकाय मूकदर्शक बनेर बस्न नहुने बताए ।

सुझावित समाचार