बर्दियामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ४ हजार ७ सयजना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउने तयारी गरिएको हो।
नेपालमा दैनिक पाठेघरको क्यान्सरको कारणको दिनहुुँजस्तो ४ जनाको मृत्यु हुने गरेको छ । क्यान्सरको कारण हुने मृत्युलाई रोकथाम गर्नका लागि सरकारले निःशुल्क क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
गत वर्ष २०८१/०८२ मा १० देखि १४ वर्षसम्मका कक्षा ६ देखि १० सम्म पढ्ने २० हजार ४ सय जना बालिकालाई एचपिभी खोप लगाइएको थियो भने चालू आर्थिक वर्ष २०८२/०८३ मा ४ हजार ७ सयजना बालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत राजु खड्काले जानकारी दिए ।
उनले भने, ‘पाठेघरको मुखमा हुने क्यान्सर रोक्न एचपिभी खोप महत्वपूर्ण हुने भएकोले यसलाई लगाउनुपर्छ। खोपको एक मात्रा डोज लगाए पुग्छ। एकपटक खोप लगाएपछि खोपले जीवनभर पुग्छ । त्यही भएर सरकारले खोप लगाउने अभियान चलाएको छ। ’
सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क एचपिभी खोप प्रदान गर्दै आएको छ। अब जिल्लामा एचपिभी खोप प्रत्येक वर्ष कक्षा ६ मा पढ्ने बालिकालाई खोप लगाउने अभियान सञ्चालन हुनेछ।