पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनका लागि होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले १५ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको १२औँ वार्षिक साधारणसभा तथा साताैँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले नवलपरासीको त्रिवेणीमा सम्पन्न गोष्ठीमार्फत नयाँ उपायहरूको खोजी गर्ने उद्देश्यसहित उक्त कार्ययोजना तयार गरेको संगठनका अध्यक्ष राजेश महाेत्राले जानकारी दिए।
भैरहवामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न संगठनले देशभित्र तथा भारतीय नागरिकका विवाह समारोह, व्यावसायिक प्रवर्द्धनका कार्यक्रम, संघ–संस्थाका महाधिवेशन, सभा तथा सम्मेलन आयोजना गर्न इच्छुकलाई विशेष सहुलियतसहित आमन्त्रण गर्ने योजना बनाएको अध्यक्ष महाेत्राले बताए।
भैरहवा क्रमिक रूपमा मेडिकल सिटीका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का बोर्ड सदस्यसमेत रहेका अध्यक्ष महोत्राले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा छिमेकी जिल्लाका धार्मिक स्थलहरूलाई समेटेर प्याकेजका रूपमा पर्यटकीय गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताए। संस्कृतिको संरक्षण र पर्यटकको स्वागतका लागि स्थानीय तह, व्यवसायी तथा संघसंस्थासँग सहकार्य गरी स्वागतको वातावरण निर्माण गरिने पनि उनले जानकारी दिए।
पर्यटकीय गन्तव्यबारे जानकारी दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया नाकालगायत स्थानमा होर्डिङ बोर्ड राख्ने तथा सौन्दर्यीकरण गर्ने कार्ययोजना रहेको छ। विभिन्न पर्यटकीय गन्तव्य समेटेर होटेल प्याकेज तयार गरी प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ। यस वर्ष सिद्धार्थ सडक खान महोत्सव दुई दिन आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
कार्यशालाले होटेल, क्याफे, क्याटरिङ व्यवसायी प्रतिष्ठान समन्वय उपसमिति तथा रात्रिकालीन व्यवसाय र रेस्टुरेन्ट उपसमिति गठन गरेको संगठनका महासचिव बालबहादुर घिमिरेले बताए।
होटेलमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड तथा पर्यटन विकास परिषदसँग समन्वय गरी तालिम, गोष्ठी तथा भ्रमण कार्यक्रम सञ्चालन गरिने, विश्व पर्यटन दिवस भव्य रूपमा मनाइने, संगठनको लोगोसहित भैरहवा, लुम्बिनी, बुद्धसर्किट तथा अन्य पर्यटकीय गन्तव्यका गाइडम्याप र फोटो तयार गरी सहुलियत दरमा व्यावसायिक प्रतिष्ठानलाई उपलब्ध गराइने महासचिव घिमिरेले जानकारी दिए।
त्यस्तै, तारे होटेलको वर्गीकरण गर्ने, रैथाने खाना उपलब्ध गराउने रेस्टुरेन्टको पहिचान गरी उत्कृष्ट रेस्टुरेन्ट व्यवसायीलाई पुरस्कृत गर्ने, गेस्ट ट्र्याकिङ सफ्टवेयर क्रेडिट प्रणाली विकास गरी अतिथिको विवरण अर्को होटेलले हेर्न सक्ने व्यवस्था मिलाउने तथा पर्यटक ठगिएको अवस्थामा सहजीकरण गर्ने कार्ययोजना पनि समावेश गरिएको छ।
यसका साथै व्यवसायीलाई विभिन्न प्रदेशका पर्यटकीय गन्तव्यमा भ्रमण गराउने, अन्य प्रदेशलाई समेत पर्यटकीय प्रवर्द्धनका लागि निम्तो गर्ने, तालिम तथा अन्तर्क्रिया आयोजना गर्ने, विभिन्न चाडपर्वमा शुभकामना आदान–प्रदान, वनभोज कार्यक्रम, व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि पहल तथा सहजीकरण गर्ने योजना रहेको छ।