शान्त, विवेकशील र छेपारो प्रवृत्ति । यी विशेषण अहिले केभिन वार्सका लागि प्रयोग गरिँदै छ, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का भावी अध्यक्षका उम्मेद्वारका रूपमा चुनेका छन् । यदि अमेरिकी सिनेटले अनुमोदन ग¥यो भने फेडरल रिजर्भका पूर्वगभर्नर वार्सले मे महिनामा हालका अध्यक्ष जेरोम पावेलको स्थान लिनेछन् ।
ट्रम्पले शुक्रबार वार्सलाई फेडरल रिजर्भका भावी अध्यक्षका रूपमा अघि सारे । ‘म केभिनलाई लामो समयदेखि राम्ररी चिन्छु । र, उनी महान् फेड अध्यक्षमध्ये एक, अझ सम्भवतः सबैभन्दा महान् हुनेछन् भन्नेमा मलाई कुनै शंका छैन,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल साइटमा गरेको पोस्टमा लेखेका छन्, ‘सबैभन्दा महŒवपूर्ण कुरा उनले तपाईंहरूलाई कहिल्यै निराश पार्नेछैनन् ।’
विगत एक वर्षको अवधिमा ट्रम्पले बारम्बार वर्तमान अध्यक्ष पावेललाई ब्याजदर आफूले चाहेको स्तरमा घटाउन नसकेकोमा आलोचना गर्दै आएका छन् । वार्स फेडरल रिजर्भ प्रमुख चुनिए ट्रम्पले सहज अनुभव गर्ने अपेक्षा गरिएको छ, कम्तीमा सुरुमा । यसमा आंशिक रूपमा वार्सको रिपब्लिकन पृष्ठभूमिले काम गर्नेछ । रोनाल्ड लाउडर उनका ससुरा हुन्, जो ‘एस्टी लाउडर कस्मेटिक्स फरचयुन’का उत्तराधिकारी तथा लामो समयदेखि ट्रम्पका दाता र सहयोगी हुन् ।
५५ वर्षीय वार्स हाल स्ट्यानफोर्ड विश्वविद्यालयस्थित दक्षिणपन्थी ‘थिंक ट्यांक’ हुभर इन्स्टिच्युसनमा फेलोको रूपमा कार्यरत छन् । त्योभन्दा पनि महत्वपूर्ण वार्सले ट्रम्पको नीतिहरूप्रति पंक्तिबद्ध हुन इच्छा देखाएको आलोचकहरूले औँल्याएका छन् । देशमा व्याप्त मुद्रास्फीति नियन्त्रण गर्न विगतमा उच्च ब्याजदरलाई समर्थन गरेका वार्सले अहिले राष्ट्रपति ट्रम्पले चाहेकै न्यून ब्याजदरहरूको पक्षमा बोल्न थालेका छन् ।
परिवर्तनको इतिहास
‘उनी एक राम्रो छेपारो हुन्,’ नीति अनुसन्धान संस्था ‘एम्प्लोय अमेरिका’का कार्यकारी निर्देशक स्कन्द अमरनाथले भने, ‘हेर्दा उनी जानकार र बौद्धिक देखिन्छन् । तर, उनले भनेका कुरालाई राम्ररी केलाउनुभयो भने त्यहाँ खासै केही भेट्नुहुन्न ।’ अमरनाथले वर्षौंसम्म वार्सको नीतिगत अडान अवलोकनका आधारमा उक्त आलोचना गरेको बताए ।
पूर्वराष्ट्रपति जर्ज डब्लु बुसको राष्ट्रिय आर्थिक परिषद्मा काम गरेपछि वार्स सन् २००६ मा ३५ वर्षको उमेरमा फेडरल रिजर्भको ‘बोर्ड अफ गभर्नर्स’का सदस्य भए । उनी २०११ सम्म केन्द्रीय बैंकमा रहे । त्यस अवधिमा उनले सन् २००८–२००९ को विश्वव्यापी वित्तीय संकटलाई सम्बोधन गर्न तत्कालीन अध्यक्ष बेन बर्नान्केसँग काम गरे । त्यो संकटमा लेहम्यान ब्रदर्स र बियर स्टन्र्सजस्ता वित्तीय सेवाप्रदायक फर्महरू पतन भए ।
वार्सले संकटको दुष्प्रभावलाई सीमित गर्न त्यतिवेला फेडरल रिजर्भले अपनाएको केही न्यून ब्याजदरको नीतिप्रति आपत्ति जनाएका थिए । अमरनाथका अनुसार वार्सले त्यतिवेला मुद्रास्फीतिप्रति चिन्ता व्यक्त गर्ने गर्थे । ‘जबकि अगस्ट २००८ मा लेहमन ब्रदर्स टाट पल्टिएको समयमा पनि उनले मुद्रास्फीतिकै बारेमा कुरा गरिरहेका थिए । उनले त्यति ठुलो संकटबारे अनुमान गर्न सकेनन्,’ अमरनाथले भने । बेरोजगारी दर १० प्रतिशतसम्म बढ्न लागेको अवस्थामा समेत वार्सले बेरोजगारीलाई कम आँकेको अमरनाथले बताए । आज भने अमेरिकामा बेरोजगारी दर ४.४ प्रतिशतको स्वस्थस्तरमा छ ।
वार्सले सन् २०१७ मा आएर बल्ल मुद्रास्फीतिप्रतिको आफ्नो अडानलाई नरम बनाउन थाले । त्यो त्यही वेला हो, जब ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकाल सुरु गरेका थिए । वार्सले खुल्ला रूपमा लिने पक्षपात हेर्दा उनको कार्यकालमा कुनै वित्तीय संकट आए के होला भन्ने सक्छ भन्ने अमरनाथको निन्ता छ । ‘उनको ट्र्याक रेकर्ड हेर्दा उनको विचार धेरै नै पक्षपाती र राजनीतिक देखिने गर्छ । खासमा उनको पक्षधरता शक्तिमा को छ भन्ने कुरामा निर्भर गरेको देखिन्छ,’ अमरनाथले भने ।
‘राजनीतिक’ रेकर्ड
यद्यपि, केही विज्ञ भने फेडरल रिजर्भको अध्यक्ष पदको उम्मेदवारको रूपमा वार्सका बारेमा बढी आशावादी देखिन्छन् । जर्जटाउन विश्वविद्यालयमा व्यापार तथा आर्थिक कूटनीति विषय बढाउने प्राध्यापक अर्थशास्त्री रोबर्ट रोगोब्स्की तिनै व्यक्तिमध्ये एक हुन् । रोगोब्स्की वार्सलाई फेडरल रिजर्भ अध्यक्षका रूपमा ‘उत्कृष्ट नभए पनि बलियो चयन’ भएको मान्छन् । ‘उनी स्पष्ट रूपमा अत्यन्तै प्रतिभाशाली छन् । यस क्षेत्रमा उनको उपलब्धिको ठोस रेकर्ड छ,’ रोगोब्स्कीले भने ।
तथापि, वार्सलाई राजनीतिक अवसरवादीको रूपमा हेर्न सकिने रोगोब्स्कीले नै स्वीकार गरे । ‘उनको रेकर्ड अलि राजनीतिक देखिन्छ । डेमोक्रेटिक पार्टीको राष्ट्रपति हुँदा बलियो मौद्रिक नीति पक्षधर देखिने वार्स अहिले ट्रम्पको मौद्रिक नीति पक्षधर देखिएका छन्,’ प्राध्यापक रोगोब्स्कीले भने । तथापि, वार्स ट्रम्पको ब्याजदर घटाउने आक्रामक दबाबमा पर्छन् भनेर उनी धेरै चिन्तित छैनन् । फेडरल रिजर्भका अध्यक्ष एक शक्तिशाली पद भए पनि बैंकको सातजना सम्मिलित बोर्ड सदस्यमा उनको मत पनि अरूको जत्तिकै एक मात्र हो । अध्यक्षको मतले बहुमतको मतलाई उल्ट्याउन सक्दैन । अहिलेका लागि वार्सको बोली ‘ट्रम्पको जस्तो’ देखिए पनि उनले पछि गएर ट्रम्पको ‘चरम तथा अति हानिकारक’ ब्याजदर कटौती लागू गर्न अस्वीकार गर्ने रोगोब्स्की विश्वास गर्छन् ।
ट्रम्पले देशको कैन्द्रीय बैंकलाई हाल कायम लगभग ३.७५ प्रतिशतको ब्याजदरलाई एक प्रतिशतमा झार्न आह्वान गरेका छन्, जुन एक ठुलो गिरावट हो । यस्तो नीतिगत कदमले ‘मध्यम–अवधिको मुद्रास्फीति संकट’ निम्त्याउने वार्सलाई थाहा भएको विज्ञ बताउँछन् । त्यस्तो कदमले ‘डलरमा तुरुन्तै विनाशकारी गिरावट र विश्वव्यापी व्यापार प्रणालीमा डढेलो निम्त्याउन’ सक्छ । ‘सेन्टर फर अ न्यू अमेरिकन सेक्युरिटी’ नामक थिंक ट्यांककी वरिष्ठ फेलो रचेल जिम्बाका अनुसार ट्रम्पले हाल अवलम्बन गरेको व्यापार नीतिले आगामी फेडरल रिजर्भ अध्यक्षलाई पहिले नै ठुलो चुनौती खडा गरेको छ । ट्रम्पले अपनाएको आक्रामक अन्तर्राष्ट्रिय व्यापार नीति र आप्रवासनमाथिको कठोरताले अमेरिकी अर्थतन्त्रलाई असर गरिरहेको जिम्बाले बताइन् । अहिले देशको आर्थिक वृद्धि ‘ठिक’ भए पनि रोजगारी वृद्धि न्यून रहेको अवस्थामा ‘ब्याजदर कटौतीले ती समस्या समाधान गर्ने सम्भावना’ नभएको जिम्बाले बताइन् ।
अहिलेका लागि वार्सको छनोट अन्तिम भइसकेको छैन । आगामी महिनामा सिनेट उनको छनोटका लागि सुनुवाइ सुरु हुनेछ । सिनेटमा ट्रम्पकै पार्टीको बहुमत छ । तर, केही रिपब्लिकन सिनेटर नै ट्रम्पको विपक्षमा उभिने खतरा छ । हालसम्म कम्तीमा एकजना रिपब्लिकन सिनेटर थोम टिलिसले असहमति व्यक्त गरेका छन् । टिलिसले वर्तमान अध्यक्ष पावेलविरुद्ध राष्ट्रपति ट्रम्पले हालेको आपराधिक अनुसन्धानको मुद्दा खारेज नगरेसम्म कुनै पनि मनोनयनलाई समर्थन नगर्ने बताएका छन् । यसै महिना घोषणा गरिएको उक्त अनुसन्धान खासमा ट्रम्पले आफ्ना माग पूरा गर्न फेडरल रिजर्भमाथि चालेको पछिल्लो दबाबमूलक कदमका रूपमा हेरिएको छ ।
अलजजिराबाट