चारैवटा ग्रान्डस्लाम जित्ने कान्छा खेलाडी बने अल्काराज

अस्ट्रेलियन, फ्रेन्च, विम्बल्डन र युएस ओपन जित्ने अल्काराज इतिहासकै नवौँ पुरुष खेलाडी

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

नम्बर एक टेनिस खेलाडी कार्लोस अल्काराजले सिजनको पहिलो ग्रान्डस्लाम उपाधिका रूपमा अस्ट्रेलियन ओपन जितेका छन् । मेलबर्नको रोड लेभर रंगशालामा आइतबार भएको पुरुषतर्फको फाइनलमा अल्काराजले सर्बियाली खेलाडी नोभाक जोकोभिकलाई ३–१ ले हराउँदै उपाधि हात पारेका हुन् । टेनिस इतिहासमा चारैवटा ग्रान्डस्लाम जित्ने अल्काराज कान्छा खेलाडी बनेका छन् । 

अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन जित्ने अल्काराज इतिहासकै नवौँ पुरुष खेलाडी हुन् । उनको जितसँगै जोकोभिकको २५औँ ग्रान्डस्लाम उपाधि जित्ने योजना पूरा हुन सकेन । सन् २०२३ को युएस ओपन जितेदेखि नै उनी अस्ट्रेलियाका मार्गरेट कोर्टको २४ उपाधिको कीर्तिमानसँग बराबरीमा छन् । टेनिस इतिहासमा जोकोभिकले कीर्तिमानी रूपमा दशपटक अस्ट्रेलियन, सातपटक विम्बल्डन, चारपटक युएस तथा तीनपटक फ्रेन्च ओपन उपाधि जितेका छन् । पूर्व एक नम्बर खेलाडी जोकोभिकले अस्ट्रेलियन ओपनमा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा स्थान बनाएका थिए । 

जोकोभिकले फाइनलमा अल्काराजमाथि दबाब दिँदै पहिलो सेट ६–२ ले जिते । मेलबर्न पार्कमा उनी ११औँपटक फाइनल खेलिरहेका थिए । रमाइलो के थियो भने यसअघिका १० फाइनल जोकोभिकले जितेका थिए । कीर्तिमानी रूपमा दशपटक अस्ट्रेलियन ओपन जितेका जोकोभिकले ११औँ फाइनलमा पनि शतप्रतिशत नतिजा निकाल्ने अनुमान गरिएको थियो । तर, स्पेनिस खेलाडी अल्काराजले विपक्षी खेलाडीका उपाधि भिडन्तको अपराजित यात्रा रोक्दै बाजी मारे । 

२२ वर्षीय अल्काराजले पहिलोपटक अस्ट्रेलियन ओपन ट्रफी चुम्न जोकोभिकलाई तीन घण्टा दुई मिनेटमा हराएका हुन् । ३८ वर्षीय जोकोभिकले आफ्नो अनुभवको पूर्ण प्रयोग गर्दै युवा प्रतिद्वन्द्वीमाथि दबाब बनाएका थिए । दोस्रो सेटमा अल्काराजले लय समातेका थिए । त्यसपछि प्रतियोगितामा चौथो वरीयताका सर्बियाली खेलाडी जोकोभिकलाई सहजै पाखा लगाउँदै उनले करिअरकै सातौँ ग्रान्डस्लाम जिते । पछिल्ला दुई सिजनमा पुरुष टेनिसमा अल्काराज र इटालीका यानिक सिनरको दबदबा छ । पछिल्लो समयमा यी दुवै युवा खेलाडीले समग्रमा नौवटा ग्रान्डस्लाम आपसमा बाँडेका छन् । 

युवालाई चुनौती दिइरहेका जोकोभिक
जोकोभिक ३८ वर्षका हुन् । अस्ट्रेलियन ओपनको फाइनल खेल्ने उनी पाका खेलाडी हुन् । जोकोभिकका समकालीन सबैजसोले सन्न्यास लिइसकेका छन् । जोकोभिकको पुस्तामा रहेका खेलाडीमा उनी मात्र टेनिस कोर्टमा सक्रिय छन् । तर, उनले वर्तमान समयकै युवा खेलाडीलाई आफू सहभागी भएको एटिपीदेखि ग्रान्डस्लामसम्म चुनौती दिइरहेका छन् । यसको उदाहरणका रूपमा जोकोभिकले सेमिफाइनलमा साबिक विजेता सिनरविरुद्ध दिएका थिए ।

फाइनल प्रवेश खेलमा उनले सिनरलाई पाँच घण्टा समय लगाएर ३–२ ले हराएका थिए । ‘अहिले सिनर र अल्काराजले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्,’ जोकोभिकले भने, ‘यी दुवै खेलाडीले भविष्यमा इतिहास बनाउनेछन् ।’ उनले अल्काराजको प्रशंसा गरेका छन् । उनी भन्छन्, ‘अल्काराज युवा छन् । मलाई विश्वास छ, ग्रान्डस्लाम टेनिसमा थप रेकर्ड बनाउन अग्रसर भइरहेका छन् ।’ अल्काराजले बेस लाइनमा ब्याक ह्यान्ड तथा भलीको सहयोगमा जोकोभिकमाथि दबाब राखेका थिए । 

जोकोभिकले आफूले पछिल्लो समयमा प्रतिस्पर्धा गरेको मध्ये अल्काराज फरक प्रतिद्वन्द्वीका रूपमा पाएको बताए । ‘सेमिफाइनल पनि उत्कृष्ट थियो, तर फाइनल अलि फरक लाग्यो,’ जोकोभिकले भने, ‘सम्भवतः यो फाइनल मैले खेलेकामध्ये उत्कृष्ट थियो, तर यसमा पराजित भएँ ।’ अल्काराजले समान दुईपटक युएस, फ्रेन्च तथा विम्बल्डन ग्रान्डस्लाम जितेका छन् । 

सुझावित समाचार