सय बिलियन जिडिपीको नेपाली अर्थतन्त्र

प्रतिव्यक्ति आय तीन हजार डलरसहित वार्षिक तीन लाख रोजगारी सिर्जना गर्दै अघि बढ्ने सामथ्र्यको नेपाली अर्थतन्त्र बनाउन तत्काल सकिन्छ

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

आर्थिक क्रान्तिलाई चुनावी मुद्दा बनाऔँ :  भर्खरै राष्ट्रिय तथ्यांक कार्यालयको गरिबीको लघुक्षेत्र रिपोर्ट–२०८२ हेर्दा नेपालमा ६२ लाख (२०.२७%) जनसंख्या बहुआयामिक गरिबीमा रहेको देखिन्छ । यो बढी दुर्गम क्षेत्र र गाउँमा छ, जो पुस्तान्तर गरिबी पनि हो । अब यो अन्त्य गर्नैपर्छ । यही गरिबीको दुष्चक्र तोड्न नेपालले लगातार देखेको एक सपना हो– पर्याप्त उत्पादन, दुईअंके आर्थिक वृद्धि, ठुलो जिडिपी, उच्च परक्यापिटा इन्कम र उन्नत विकास । यो समृद्धि प्राप्ति गर्न तीव्रत्तर औद्योगिक क्रान्तिबाट अर्थतन्त्रलाई समाजवादोन्मुख वैचारिकीले निर्देशन गर्ने । यसका लागि अर्धसामन्तवादी उत्पादन ढाँचा समूल अन्त्य गर्ने । यसमा सबै राजनीतिक दल सहमत भएका पनि हुन् । 

तर यस्तो भएन, चारैतिर कुशासन र भष्ट्राचार छायो, पटक–पटक राजनीतिक परिवर्तन भए पनि आर्थिक क्रान्ति मूल राजनीतिक मुद्दा बन्नै पाएन । न्यून उत्पादनका कारण जिडिपी र प्रतिव्यक्ति आय बढेन । नेपालको ७५ वर्षे आधुनिक इतिहासमा अर्थतन्त्र शिथिल नै रह्यो । यही अविकासको चक्रव्यूह तोडन जेन–जी आन्दोलन भयो । उनैको सरकार छ, अर्थमन्त्री भिजनरी छन् । कमै समयमा सही, उचित विकास नीतिसँगै पुनर्निर्माण र उत्पादन वृद्धि योजना बन्ला । यसबाट अर्थतन्त्र क्रमशः उकासिएला र नयाँ आउने सरकारले पनि यो नीतिलाई निरन्तरता देला । अर्थतन्त्र सुधार मूल चुनावी मुद्दा बन्ला नै, यो अपेक्षा सर्वत्र छ । 

हुन त अघिल्लो सरकारले पनि अर्थतन्त्रको शिथिलता हटाएको दाबी गरेको थियो । जस्मा देशको आर्थिक अवस्था लयमा फर्केको, कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा वृद्धि भई चार खर्बले अर्थतन्त्रको आकार बढेको र २२ मध्ये धेरैजसो वृहत् आर्थिक परिसूचक सप्रिएको भन्ने थियो । तर, अर्थतन्त्र तरलतामुखी र उच्च महँगीभित्रै रहँदा यो पत्यारिलो देखिँदैनथ्यो । 

अहिले पनि स्थिति उस्तैउस्तै छ, तर आशा भने गर्न सकिन्छ, किनकि सरकार इमानदार र अनुशासित छ । अर्थशास्त्रीहरूले अवृद्धिजनित स्फिति अन्त्य हुँदा मूलतः तीन परिसूचक नापजाँच गर्छन् । ती हुन्– प्रतिव्यक्ति आय वृद्धि, उल्लेख्य रोजगारी संख्या थप र लगानी विस्तारमा बढोत्तरी । हाम्रा यी परिसूचक कमजोर छन् अझै । विश्व बैंक–२०२३ र आइएमएफ–२०२४ का रिपोर्टले हाम्रा पछिल्ला दुई आर्थिक वर्षको धेरै ‘माइक्रो–इकोनोमिक इन्डिकेटर’ सुस्त देखाएका छन् । 

हावा गफले अर्थतन्त्र बन्दैन । त्यसका लागि समर्पण, योजना र काम चाहिन्छ । देशलाई उद्योग चाहिन्छ । लामो अवधिसम्म यस्तो दुर्दशाको अवस्थामा अर्थतन्त्र रहनु नै घातक अवस्था हो, यसले विष्फोटको अवस्थातिर लैजान्छ ।

फेरि यतिखेर वैश्विक अर्थतन्त्र ग्लोबल रिसेसनको अवस्थामा छ । कोभिड– १९, युक्रेन युद्ध र डोनाल्ड ट्रम्पको ‘टेरिफ’ वृद्धिपछि चीन, अमेरिका, युरोप अनि जी–७ जस्ता ठुला अर्थतन्त्रको आर्थिक वृद्धि नै लगातार कम भइरहेछ, यो घटोत्तरी आउँदो दुई वर्षसम्म रहने आइएमएफले भन्दै छ । आर्थिक वृद्धि युरोप–अमेरिकामा २–३ प्रतिशतसम्म जाला भने भारत, नाइजेरिया र केही ब्रिक्स देशको वृद्धि राम्रै रहे पनि त्यस्तो उल्लेख्य वृद्धि कुनै अर्थतन्त्रमा देखिन्न अर्थात् ६ प्रतिशत कट्दैन । 
यसको प्रभाव हामीकहाँ पनि पर्छ नै । भारतसँगको निर्भरता, मुद्रा पेगिंग, अमेरिकी करवृद्धिको असर जोडिन्छ नै । भेनेजुएलापछि इरान युद्ध थपिँदै छ । भर्खरै ब्रिक्स करेन्सीमा जोडिँदै छन् केही देश । तर, डलर निर्भरता घट्ने संकेत छैन, यसैले अर्थतन्त्र चेपुवामा पर्ला कि भन्ने डर छ । 

अर्कातिर, हाम्रा सरकारी खर्च बढाउने योजनाको कमजोर कार्यान्वयनले पनि रोजगारी आशातीत बढाउन सकिएको छैन । जेन–जी आन्दोलनपछि ब्याजदर सस्तो भए पनि उत्पादन क्षेत्रमा लगानीको माग नबढेकाले बैंकमा १० खर्ब तरतला थुप्रिएको छ । अर्थतन्त्र ‘लिक्विडिटी ट्र्याप’मा जाने जोखिम छ ।हाम्रा खास आर्थिक परिसूचक जो सूधारका पर्खाइमा छन् ती यस्ता छन् :

 (क) जिडिपी– नोमिनल ५०.८३ र रियल ४० बिलियन डलर (ख) आर्थिक वृद्धिदर– ३.४% औसत संविधान जारीपछि कुनैे वर्ष ५% कटेको छैन (ग­) प्रतिव्यक्ति आयः १३७७ डलर (घ) क्षेत्रगत 

जिडिपी :  कृषि २४%, उद्योग १२% , सेवा ६४%, (ङ) दैनिक तीन डलर कम आय भएको जनसंख्याः २५%  (६० लाख) (च) जम्मा श्रमशक्ति (सक्रिय काम गर्न सक्ने) ः एक करोड ६० लाख जनता । (छ) देशको ऋण ः ११ बिलियन डलर छ । अर्थतन्त्र उच्च रेमिट्यान्स र आयातमा निर्भर छ । (ज) लुकेको बेरोजगारीः कृषि क्षेत्रमा ४३% जनसंख्या लुकेको बेरोजगारी हो, जसलाई उद्योगमा लैजान सकिन्छ । नेपालले यस्तो एक्टिभ लेबर फोर्सबाट अधिक जनसांख्यिक लाभ लिन सक्छ । विडम्बना यो लेबर बिदेसिन बाध्य पारिएको छ । तसर्थ, यी परिसूचकसहित समग्र अर्थतन्त्र उकास्ने कार्ययोजना के छन् ? जनताले निर्वाचनमा भोट माग्ने दललाई हाम्रो अर्थतन्त्र सुधारबारे सोधून्, यसको मार्गचित्र माग्दै बहस गरून् ।

जिडिपी वृद्धिका संरचनातगत अवरोध :  औद्योगिकीकरण र प्रतिव्यक्ति आय उच्च बनाएका हाम्रा छिमेकी हुन्– दक्षिण कोरिया र चीन । त्यहाँ ग्लोबलाइजेसनको ‘क्याचिंङ अप इफेक्ट’ सफल भयो । तीन दशकअघि नेपाल, दक्षिण कोरिया र चीनको प्रतिव्यक्ति आयमा खासै अन्तर थिएन । जो क्रमशः ७५, २८० र ९० डलर थियो । तर, आज दक्षिण कोरियाको परक्यापिटा ३५ हजार डलर छ भने चीनको १३ हजार छ । क्रमशः १.६५ र १९ ट्रिलियन डलर जिडिपी छ । भारतको ४.१३ ट्रिलियन जिडिपी र परक्यापिटा तीन हजार डलर छ । रुवान्डाको पनि सात हजार डलर छ परक्यापिटा । लाजैमर्दो नेपालको १३४५ डलर परक्यापिटा र जिडिपी ४० बिलियन मात्र छ । 

यति कमजोर किन भयो हाम्रो जिडिपी र प्रतिव्यक्ति आय ? हाम्रो आर्थिक संरचनागत सुधार एवं लगानी प्राथमिकता किटान नै भएन । खासमा व्यावसायिक कृषि र उद्योगमा वृहत् लगानी बढेन अनि अर्कातिर हामीले ग्लोबलाइजेसनको फाइदा लिन जानेनौँ । फलतः जिडिपी र प्रतिव्यक्ति आम्दानी नबढ्दा हामी विपन्न छौँ । जबकि दक्षिण कोरिया हाई इन्कम नेसन भयो, अब चीन पनि हुन्छ जहाँ उच्च आम्दानी र रोजगारीका कारण शिक्षा, स्वास्थ्य र जीवनयापनका धेरै परिसूचक समृद्धिमा छन् । तर, हामी गरिबी र पछौटेपनको भासमा छौँ जहाँ ज्यादै कम गुणस्तरीय जीवन छ । 

जबसम्म देशमा उच्च बचत, थप पुँजी निर्माण, उल्लेखनीय लगानी र म्यानुफ्याक्चर क्षेत्र बढ्दैन तबसम्म न जिडिपी बढ्छ न परक्यापिटा बढ्छ न त रोजगारी बढ्छ । देश गरिब भइरहन्छ । अर्थतन्त्र रूपान्तरण गर्ने सवालमा यी तीन इकोनोमिक पिल्लर उकास्न हामी गम्भीर भएनौँ, उल्टो निजीकरण र नवउदारवादमा फस्यौँ । 

नेपाल :  १०० बिलियन डलर अर्थतन्त्र सपना : अर्धसामन्तवादी ढाँचाबाट पुँजीवादी उत्पादन प्रणालीमा जाँदा विकासशील मुलुकमा पर्याप्त श्रमशक्ति भए पनि पुँजी निर्माणको अभाव भने देखापर्छ । उच्चस्तरको औद्योगिकीकरण गर्न धेरै बचत र पुँजी लगानी चाहिन्छ । औद्योगिकीकरण नभई वा भनौँ ‘मेनुफ्याक्चर’ क्षेत्र विकास नभएसम्म यो बचत प्राप्त हुन्न । सँगै बेरोजगारी समस्या पनि निदान हुन्न । कृषिक्षेत्रमा लुकेको बेरोजगारी श्रमलाई औद्योगिक क्षेत्रमा सार्नुपर्छ ।

गरिब देशमा कृषिको व्यवसायीकरण र औद्योगिक क्षेत्रको विस्तारलाई टेवा दिने जब्बर आर्थिक नीति जरुरी हुन्छ । यसवेला निजी क्षेत्र र सरकारले संयुक्त लगानीलाई जोड दिनुपर्छ । हो यही नीतिलाई सकभर समाजवादमैत्री आर्थिक नीतिले डोर्याउने वा मिश्रित ‘किन्सियन’ अर्थनीतिले अघि बढाउने योजनातिर नगई नेपालले सुरुमै नवउदारवाद (निजीकरण) पोस्ने नीति लियो । यसको फाइदा धनी वर्गलाई मात्रै भयो । किनकि उत्पादनका स्रोत (जग्गा र उद्योग) कौडीका मोलमा कब्जा भए । वस्तु उत्पादन र रोजगारी बढाउनुको सट्टा त्यही सम्पत्तिको मूल्य बढाउनमा मात्रै यो धनी वर्ग लाग्यो । यसैले यी उद्योगधन्दा चलाउनेभन्दा राजनीतिक दलाली गरी बजारमूल्यरञ्जना (जग्गा र घडेरी किनबेच, सेयर किनबेच, बैंक र सहकारी स्थापना, ऋण घोटाला आदि)तिर लागे । नवउदारवाद पोसेर समाजवाद ल्याउन सम्भव थिएन नै ।

यसले अर्थतन्त्र उत्पादनमुखी नभई रेन्ट सिकर भइदिनाले रोजगारी कम, आय कम, बचत कम, पुँजी निर्माण कम, लगानी कम, उच्च आयाततिर ढल्क्यो । फलतः आर्थिक मन्दीका चक्र बाहिरभन्दा भित्रैबाट स्वसिर्जित भए र बलिया बने । अर्थतन्त्र माथि बढेन । एकातिर कृषिको व्यवसायीकरण नहुनु अर्कातिर देशमा उद्योग कलकारखाना पनि नखोलिनुजस्ता गतिविधिले बेरोजगारी पैदा भए ।

उत्पादन बढ्दै आर्थिक विकास माथि जाने क्रममा लगानीको माग विस्तार हुँदै गर्दा मुद्रा माग बढ्दै जान्छ, यस्तो वेला मुद्रास्फीति स्वाभाविक मानिन्छ । तर, आर्थिक वृद्धि नहुँदा पनि मुद्रास्फिति ज्यादै बढ्नु भनेको ‘स्टागफ्लेग्सन’को अवस्था हो, जो अति कमजोर अर्थतन्त्रको पर्याय हो । हामी यही ‘स्टागफ्लेग्सन’ भोगिरहेका छौँ । राष्ट्रिय आय बढेको छैन, आर्थिक वृद्धि कमजोर छ, रोजगारी छैन तर मुद्रास्फिति, तरलता र महँगी उच्च छ, जसले देशलाई झनै गरिबीतिर धकेल्छ । यो निवारण गर्ने उचित आर्थिक नीति कसैले बनाएको पनि छैन । गत आवमा नेपालको आर्थिक वृद्धि ३.४% भनिँदा मुद्रास्फिति दर भने ५.७% हाराहारी थियो । वर्षमा पाँच लाख युवा रोजगारीका  लागि तयार हुन्छन्, तर बेरोजगारी १५% हाराहारी छ । स्वदेशमा रोजगारी सिर्जित हुन्न । यसको कारण नै उद्योग–उत्पादन क्षेत्र विस्तार गर्न नसकेर हो । अतः ७१% उत्पादनशील युवा रोजगारी खोज्दै विदेश भौँतारिएको दयनीय अवस्था यहाँ छ । 

मतलब, हावा गफले अर्थतन्त्र बन्दैन । समर्पण, योजना र काम चाहिन्छ । देशलाई उद्योग चाहिन्छ । लामो अवधिसम्म यस्तो दुर्दशाको अवस्थामा अर्थतन्त्र रहनु नै घातक अवस्था हो, यसले विष्फोटतिर लैजान्छ । अर्कोतिर यहाँ दैनिक तीन डलरभन्दा कम आय भएको जनसंख्या २५% नजिक छ । जागिरे र मध्यम वर्गको आय दैनिक १५ डलर पनि छैन, यसले बचत हुँदैन, बचत नभई लगानीयोग्य पुँजी निर्माण हुँदैन । दुर्भाग्य हरेक नेपालीको थाप्लोमा एक लाख ऋण छ । यसरी नै राष्ट्रिय आय वितरण असाध्यै असमान छ, देशको आयको दुईतिहाइ भाग धनाढ्यको कब्जामा छ, यो रकम गाडी, घरजग्गा, वस्तु आयात, विलासिता र फजुल खर्चमा जान्छ जबकि यो पुनरुत्पादन, उद्योगमा जानुपथ्र्यो । 

सारांशमा लोकतन्त्रपछिको ३० वर्ष हाम्रो अर्थतन्त्र सही दिशामा अघि बढ्न नदिने खास कारक न्यून उत्पादन, न्यून लगानी, न्यून उद्योग र न्यून बेरोजगारी कै दुष्चक्र हो । यसको अन्त्य गरे मात्रै चाँडै नेपाल ‘अपर मिडल इन्कम’ राष्ट्रमा जान सक्छ । जो अवस्था मध्यम समृद्धिको हो, चरम गरिबी अन्त्यको हो । हो, यति काम गर्न हाम्रो रियल जिडिपी कम्तीमा पहिलो पाँच वर्षभित्र ६ प्रतिशतमाथिको वृद्धिदरमार्फत १०० बिलियन डलर गराउने र अर्को १० वर्षमा पाँच सय बिलियनतिर लाग्नुपर्छ, जो सम्भव छ । यसरी प्रतिव्यक्ति आय तीन हजार डलर, वार्षिक तीन ठुला मेनुफ्याक्चर उद्योगसँगै तीन लाख रोजगारी क्रमशः सिर्जना गर्दै अघि बढ्ने सामथ्र्यको नेपाली अर्थतन्त्र बनाउन तत्काल सकिन्छ । यो नै आत्मनिर्भर, दिगो, पर्यावरणमैत्री समाजवादोन्मुख अर्थतन्त्रको खाका हो । गिग अर्थतन्त्रलाई पनि यसभित्र राख्नुपर्छ । पुराना पार्टीले त आर्थिक रूपान्तरण गर्नै चाहेनन् नै तर अब नयाँ दलबाट भने आर्थिक रूपान्तरणको दृष्टिद्रष्टा भएको नेतृत्व जिम्मा पाउनुपर्छ । 

सुझावित समाचार