बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको निर्णय कर्मचारीले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले निजामती कर्मचारीका कारण प्रदेश सरकारको कामकाजमा गम्भीर सकस भएको दाबी गरे। आइतबार बागमती प्रदेश सभाको आठौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकार सफल वा असफल हुने भन्ने निर्णायक भूमिका कर्मचारीतन्त्रमै निर्भर रहने बताए।
कर्मचारीका विषयमा आफूले पहिलोपटक सार्वजनिक रूपमा मुख खोल्नुपरेको भन्दै उनले प्रदेश सभाले पारित गरेको ऐनअनुसार सांसदका स्वकीय सचिवलाई सेवा–सुविधा उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आउन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘प्रदेश सभाले पारित गरेको ऐनअनुसार स्वकीय सचिवलाई सेवा–सुविधा दिने निर्णय भएको थियो,’ उनले भने, ‘तर केन्द्रबाट आएको एउटा परिपत्र देखाएर मलाई अप्ठेरो पर्छ भन्दै कर्मचारीले निर्णय कार्यान्वयन गर्न मानेनन् ।’
जेन–जी आन्दोलनपछि बनेको सरकारले खर्च कटौतीको नाममा प्रदेश सांसदका स्वकीय सचिवहरूको तलब रोक्का गरेको विषयमा प्रश्न उठाउँदै मुख्यमन्त्री बानियाँले यसमा कर्मचारीकै अटेरीपन मुख्य कारण रहेको बताए ।
प्रदेशको ऐनलाई आधार मानेर प्रदेशकै विषयमा निर्णय गर्न सक्ने क्षमता निजामती कर्मचारीमा हुनुपर्ने उनको भनाइ थियो । ‘प्रदेश सरकारले बनाएको ऐन नटेर्ने, कुर्सीमा बसेर जागिर पकाउने प्रवृत्तिका कारण समस्या आएको हो,’ उनले भने, ‘प्रदेश सरकारले बनाएको ऐनमा टेकेर काम गर्न नसक्ने कर्मचारी कसरी प्रदेश सभामा बस्न सक्छ ?’
मुख्यमन्त्री बानियाँले स्वकीय सचिवले तलब नपाएको कुरा एउटा उदाहरण मात्र भएको उल्लेख गर्दै कर्मचारीका कारण प्रदेश सरकार मन्त्रिपरिषदले गरेको केही महत्वपूर्ण निर्णयहरू कार्यान्वयनमै अप्ठ्यारो परेको दाबी गरे। उनले सांसदहरूले सरकारले काम गरेन भनेर कुरा उठाउने मात्र नभई वास्तविकता बुझेर काम गर्नुपर्ने बताए। आफ्नो कमजोरी भए सुधार्न र गल्ती गरे कुर्सी छाड्नसमेत आफू तयार रहेको मुख्यन्त्री बानियाँले स्पष्ट पारे।
‘निजामती कर्मचारीहरूले अझै अटेर गरे भनेर माननीयज्यूहरूले कुरा उठाउने मात्र होइन, एक्सनमा जानुपर्छ,’ उनले भने, ‘सरकारले गरेका कमजोरी म तुरुन्त सुधार्न तयार छु । मैले गल्ती गरेँ भने म एक मिनेट पनि कुर्सीमा बस्दिनँ । तर, सबैले आ–आफ्नो जिम्मेवारी लिने कि नलिने ? निजामतीले लिने कि नलिने ? सुरक्षा निकायले लिने कि नलिने ?’
मुख्यमन्त्री बानियाँले राजनीतिक दलहरूबिचको निरन्तर आरोप–प्रत्यारोपका कारण नागरिकमा निराशा बढ्दै गएको पनि बताए। संसदमा रहेका दलहरूले ‘यो भएन, त्यो भएन’ भन्नुभन्दा अब ‘के गर्ने ?’ भन्ने साझा निष्कर्षसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘सल्लाह गरेर अघि बढ्न सके संघीय व्यवस्था अझ सबल हुन्छ,’ उनले भने । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले उद्घाटन गरेको वार्षिकोत्सव समारोहमा विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठक तत्काल बोलाउन र सभामुखको निर्वाचन गर्न माग गरेका थिए। कार्यक्रमको अवसरमा ‘प्रदेश सभा दर्पण’ पुस्तकको विमोचनसमेत गरिएको थियो।