नेपालमै पहिलोपटक दाल–भात खाने प्रतियोगिता सम्पन्न

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

नेपालमै पहिलोपटक आयोजना गरिएको दाल–भात खाने प्रतियोगिताको उपाधि आयुष रिजालले जितेका छन्। मोनालिसा थकालीद्वारा आयोजित उक्त प्रतियोगितामा आयुषले १५ मिनेटमा १,२३६ ग्राम दाल–भात खाएर प्रथम स्थान हासिल गरेका हुन्।

प्रतियोगितामा २,७०० ग्राम दाल–भात दिइएको थियो। यस्तै, अशोक न्यौपानेले १५ मिनेटमा ७३६ ग्राम खाएर दोस्रो स्थान हासिल गर्दा सरोज देसारले ७०४ ग्राम खाएर तेस्रो स्थान प्राप्त गरे।

प्रथम हुने आयुष रिजालले नगद १५ हजारसहित पोखरा–मुस्ताङ ट्रिप प्राप्त गरेका छन्। दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजारसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

प्रतियोगितामा सहभागी १३० जनामध्ये आयुष रिजाल, अशोक न्यौपाने, सरोज देसार, आर्यन थापा, स्वकर हमाल, अरुण कुँवर, आयुष्मा महत, अशिम राई, प्रशुन अधिकारी र रोजन तामाङ टप टेनमा पर्न सफल भएका थिए।

विजेता आयुष रिजालले प्रतियोगिता जित्ने आत्मविश्वास पहिलेदेखि नै रहेको बताउँदै जित हासिल गर्दा खुसी लागेको प्रतिक्रिया दिए।
उनले भने, 'स्कुल बेलामा कहिल्यै टुर जान पाइएन, आज भात खाएर पोखरा–मुस्ताङ जान पाउने भएँ। सबैले मलाई ‘भाते’ भन्थे, आज भात खाएर नै देशकै नम्बर वान भाते बनेँ। तयारीस्वरूप एक हप्ता मासु खाइनँ, अब गएर मासु–भात खान्छु।'

मोनालिसा थकालीकी कार्यकारी निर्देशक निर्मला ओलीले नेपालकै परिकारलाई प्रतियोगितामार्फत प्रवर्द्धन गर्न पाउँदा गर्व महसुस भएको बताइन्।
उनले भनिन्, 'नेपाली खानालाई प्रतियोगितामा समेटेर विश्वभर चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ। आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिनेछौँ।'

आयोजकका अनुसार एक हप्तासम्म चलेको छनोट चरणपछि १३० जना सहभागीबाट १० जना फाइनलका लागि छनोट भएका थिए। प्रतियोगितामा सहभागी हुन थकाली खानाको मूल्यबराबर अर्थात् ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो।
 

सुझावित समाचार