नवलपुरको गैँडाकोट नगरपालिका- २, झलक मार्गमा घरको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार झलक मार्गस्थित चन्द्रबहादुर खाँणको दोस्रो तल्लाको ट्रसको काम गर्दै गरेका मजदुरका आज दिउँसो छतबाट खसेर मृत्यु भएको हो।
छतबाट खसी गम्भीर घाइते तनहुँ जिल्ला घर भई हाल गैँडाकोट नगरपालिका- ५, शीतलटोल कोठा गरी बस्ने अन्दाजी ३२ को विष्णु अधिकारी उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा चिकित्सकले साढे २ बजेतिर मृत घोषणा गरेको थियो। घटनाको अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ। त्यसैगरी, गैँडाकोट नगरपालिका ४ आदर्श चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१–०३२ च ९७३० नम्बरको कार र ग १८ प ४५८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन्। घाइतेहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मोटरसाइकलचालक तनहुँको देवघाट गाउँपालिका- २ निवासी २९ वर्षीय सूर्य गुरुङ र मोटरसाइकलको पछाडि सवार नवलपुरको बुलिङटार गाउँपालिका- १ निवासी २३ वर्षीय तेज रानामगर घाइते भएका छन् । ठक्कर दिने कार र कारचालक प्रहरी नियन्त्रणमा रहेका छन्।