रोजगार र मध्यम वर्गीय परिवारलक्षित गरेर वाचापत्र ल्याउँछौँ : रास्वपा नेता खनाल

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् ।  जेन–जी आन्दोलनपछिको मुख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए ।  

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने  बताए । 

रास्वपाको आफ्‌नो  प्रस्तावनामा  अर्थतन्त्रका दृष्टिकोण राखिसकेको भन्दै उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै, तर त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए । उनले  पर्यटन क्षेत्र विकास गर्न  कनेक्टिभिटी राम्रो बनाउनुपर्ने बताए ।  

रास्वपाले टेक्नोलोजी र हाइड्रोमा पनि  प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने, ‘हामीले  सम्मानजनक मध्यम आय मुलुक भएको अबको १० वर्षको लक्ष्य राखेका छौँ ।’  मध्यम परिवारलक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए ।   उनले सुशासनविना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै  नियामक निकायमा हस्तक्षेप र नियुक्तिमा  पारदर्शी ढंगले काम गर्नुपर्ने बताए । 

नेता खनालले पूर्वाधार क्षेत्रमा ठुलो लगानी हुनुपर्छ, तर त्यो फोकस गरेर लगानी गर्नुपर्ने भन्दै  आगामी १० वर्ष भित्र ३० हजार मेगावट बिजुली उत्पादन गर्ने लक्ष्य राखेका  बताए । उनले विदेशमा भएका नेपालीहरूलाई नेपालमा लगानी  गर्ने वातावरण बनाउन सकिने बताए ।  

बहुमत नआए घोषणापत्र कार्यान्वयन हुँदैन 

खनालले राजनीतिक दलले ल्याएको घोषणापत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणापत्र कार्यान्वयन हुन सक्छ । ५–६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषणपत्र लागू हुन सक्दैन,’ उनले भने ।

सुझावित समाचार