राप्रपाले अर्को हप्ता सार्वजनिक गर्ने गरी घोषणापत्रको काम धमाधम गरिरहेको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा घोषणापत्र बनाइरहेको छ ।
विगतको समीक्षासहित अभिभावकका रूपमा राजसंस्थाको पुनर्स्थापना, हिन्दु राज्य स्थापना र प्रदेश खारेजीलाई उसले अपूरो राजनीतिक मुद्दाका रूपमा घोषणापत्रमा फेरि पनि प्रथामिकताका साथ समेट्ने तयारी गरिरहेको छ ।
‘राजसंस्थालाई अभिभावकका रूपमा राख्ने, हिन्दु राज्य कायम गर्ने, प्रदेश खारेज गर्नेजस्ता दीर्घकालीन प्रकृतिका राजनीतिक मुद्दालाई सदन र सडकमा निरन्तर उठायौँ । यसमा इमानदार प्रयास गरेर जनमत निर्माण गर्यौँ । तर, त्यो राजनीतिक कार्यभार पूरा गर्न बाँकी नै रहेकाले अबको घोषणापत्रमा पनि समावेश गर्दै छौँ,’ तयारीबारे प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘जनताको जनजीविकाको सवाल र सामाजिक, आर्थिक रूपान्तरणको कार्यक्रम समावेश गरेर अर्को हप्ता सार्वजनिक गर्छौँ ।’