आइसिसी पुरुष टी–२० विश्वकप २०२६ : ‘ट्यालेन्ट’ देखाउन एसोसिएट राष्ट्रहरू तयार

विश्वकपमा सहभागी २० टिममध्ये एसोसिएट नौ राष्ट्र आफ्नो क्षमता देखाउँदै

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

नेदरल्यान्ड्स र पाकिस्तानबिच २४ माघमा हुने खेलसँगै आइसिसी पुरुष टी–२० विश्वकप २०२६ सुरु हुँदै छ । योपटक विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् । पहिलो दिन नै तीन खेल हुँदै छन् । नेदरल्यान्ड्स र पाकिस्तानबिच कोलम्बोमा खेल हुँदा भारत र अमेरिकाबिच वानखेडे रंगशालामा प्रतिस्पर्धा हुँदै छ । यसपटक विश्वकपमा २० टिम सहभागी हुँदा ९ टिमले एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै छन् । केही एसोसिएट राष्ट्रले सहभागिता नै ठुलो उपलब्धि मानेका छन् । केही टिम भने टेस्ट राष्ट्रलाई हराएर चुनौती दिने योजनामा छन् । 

१. नेदरल्यान्ड्स (वरीयता १३)
नेदरल्यान्ड्स सातौँपटक टी २० विश्वकप खेल्दै छ । यसअघि ६ पटक विश्वकप खेल्दा टोली सन् २०१० मा दसौँ स्थानसम्म पुगेको थियो । यसपटक नेदरल्यान्ड्स युरोपियन क्षेत्रीय छनोटबाट इटालीसँगै विश्वकपमा स्थान बनाएको हो । कप्तान स्कट एडवार्ड तेस्रोपटक टिमलाई समूह चरण पार गराउने योजनामा छन् । नेदरल्यान्ड्सले समूह ‘ए’मा आयोजक भारतसँगै पाकिस्तान र अमेरिकासँग खेल्नेछ । पहिलो खेल भने पाकिस्तानविरुद्ध कोलम्बोमा खेल्ने तालिका छ।  

२. स्कटल्यान्ड (वरीयता १४)
यो विश्वकपमा सबैभन्दा भाग्यमानी टिम भनेकै स्कटल्यान्ड हो । युरोपियन क्षेत्रीय छनोटबाट बाहिरिएको स्कटल्यान्ड भूराजनीतिक द्वन्द्वका कारण बंगलादेश नखेल्ने हुँदा भाग्यमानी बन्यो । आफ्ना खेलाडी र समर्थकको सुरक्षा नहुने भन्दै बंगलादेश भारत जान चाहेन । यसपछि आइसिसीले आफ्ना अडान लिँदा बंगलादेश बाहिर हुनुपर्यो । यसपछि मात्रै वरीयताका आधारमा स्कटल्यान्डको भाग्य खुलेको हो । स्कटल्यान्डको वरीयता १४ हो । योसँगै स्कटल्यान्ड सातौँपटक विश्वकप खेल्दै छ ।

३. नामिबिया (वरीयता १५)
नामिबिया चौथोपटक टी २० विश्वकपमा सहभागी हुँदै छ । अफ्रिका छनोटबाट नामिबिया र जिम्बावे विश्वकपमा छनोट भएका हुन् । समूहका सबै खेलमा नामिबिया जित निकाल्न सफल भएको थियो । जेजे स्मिथले सेमिफाइनलमा सानदार प्रदर्शन गरेका थिए । तर, फाइनलमा भने टोली जिम्बावेसँग पराजित भयो । आइसिसी वरीयतामा १५औँ स्थानमा रहेको नामिबियाको कप्तानी जेरार्ड इरामसले गर्नेछन् । आफ्नो टिमलाई ऐतिहासिक नतिजा दिलाउने योजनामा छन् ।

४. नेपाल (वरीयता १६)
नेपाल टी २० विश्वकपमा तेस्रोपटक सहभागी हुँदै छ । यसपटक नेपाल एसिया प्यासिफिकबाट छनोट हुन सफल भयो । नेपालले समूह चरणमा जापान र कुवेतविरुद्ध जित निकालेको थियो । नेपाल दुवै टिमविरुद्ध अपराजित रहँदै सुपर सिक्समा स्थान बनाउन सफल भयो । नेपालको कप्तानमा २३ वर्षीय युवा अलराउन्डर रोहितकुमार पौडेल छन् । उनी सन् २०२४ को विश्वकपका कान्छा कप्तान हुन् । नेपालको उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् । नेपाल पहिलोपटक समूह चरण पार गर्ने योजनामा छ ।

५. युएई (वरीयता १७)
नेपालजस्तै युएई पनि तेस्रोपटक टी–२० विश्वकप खेल्दै छ । नेपाल र ओमानसँगै युएईले पनि एसिया प्यासिफिकको सुपर सिक्समा स्थान बनाउँदै विश्वकप खेल्ने पक्का गरेको थियो । यसअघि नेपालसँगै पराजित हुँदा मुहम्मद वासिमले कप्तानी गरेको युएई विश्वकपबाट बाहिर भएको थियो । यसपटक छनोटमा युएईका लागि एलिसान सराफुले सर्वाधिक दुई सय ८३ रन बनाएका थिए । यसअघि सन् २०१४ र २०२२ मा विश्वकप खेलेको युएई पहिलोपटक सुपर ८ मा पुग्ने योजनामा छ ।

६. अमेरिका (वरीयता १८)
आइसिसी वरीयतामा १८औँ स्थानमा रहेको अमेरिका दोस्रोपटक विश्वकप खेल्दै छ । सन् २०२४ मा घरेलु मैदानमै अमेरिकाले विश्वकप खेलेको हो । त्यसवेला सुपर ८ पुगेकै कारण यसपटक अमेरिकाले छनोट खेल्न परेन । समूह चरणमा पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेपछि अमेरिकाले यो यात्रा तय गरेको हो । नेपालको पूर्वप्रशिक्षक पुवुदु दासनायके नै अमेरिकाको प्रशिक्षक छन् । उनले भने, ‘हाम्रो विश्वकप खेल्ने टिम बलियो छ । टिम तालमेल पनि राम्रो छ । खेलाडी आत्मविश्वासी छन् ।’

७. क्यानडा (वरीयता १९)
क्यानडा दोस्रोपटक टी२० विश्वकपमा सहभागी हुँदै छ । तर, टिमले यसअघि नै तीनपटक एकदिवसीय विश्वकप खेलेको थियो । टी–२० विश्वकप भने पहिलोपटक सन् २०२४ मा खेल्यो । जुन विश्वकपमा आयरल्यान्डविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । अमेरिकी क्षेत्रीय छनोटमा क्यानडाले ६ मध्ये सबै खेल जित्न सफल भयो । आइसिसी वरीयतामा १९औँ स्थानमा रहेको क्यानडाको कप्तानमा दिलप्रित बाज्वा छन् ।

८. ओमान (वरीयता २०)
ओमान आइसिसी वरीयतामा भने २०औँ स्थानमा छ । एसिया प्यासिफिकबाट नेपालसँगै ओमान विश्वकपमा स्थान बनाउन सफल भएको हो । नदिम खान र जितेन रामानन्दीले छनोटमा समान ११ विकेट लिएका थिए । सन् २०२४ को विश्वकप गुमाएका जितिन्दर सिंह टिमको कप्तानी गर्दै छन् । उनी भन्छन्, ‘हाम्रा लागि यो विश्वकपमा सहभागी हुनु नै गौरवको विषय हो । हाम्रा खेलाडी आइसिसीको ठुलो प्रतियोगिता खेल्न उत्साहित छन् ।’ ओमानले समूह ‘बी’मा आयोजक श्रीलंकासँगै अस्ट्रेलिया, आयरल्यान्ड र जिम्बावेसँग खेल्दै छ ।

९. इटाली (वरीयता २७)
फिफा विश्वकप नै चारपटक जितिसकेको इटाली पहिलोपटक क्रिकेटको विश्वकप खेल्दै छ । यता, क्रिकेटमा भने पहिलोपटक विश्वकपको मैदानमा उत्रन लागेको हो । युरोपियन उपक्षेत्रीय छनोटमा स्कटल्यान्डलाई हराउँदै इटाली विश्वकपमा छनोट भएको हो । इटाली हाल आइसिसीको वरीयतामा २७औँ स्थानमा छ । टिमको कप्तानमा वायन माडसन छन् । टोलीमा जेजे स्मट्स पनि छन् ।

–आइसिसीको सहयोगमा

सुझावित समाचार