विश्वको सबैभन्दा ठुलो आणविक भट्टी सुचारु गरिएको एक दिनपछि नै बन्द भएको छ । सन् २०११ को फुकुसिमा दुर्घटनापछि बन्द रहेको ‘कासिवाजाकी–कारिवा प्लान्ट’ पुन: सञ्चालनमा आएको एक दिनपछि बन्द भएको यसका सञ्चालकले जनाएका छन् ।
तर, रियाक्टरहरूलाई सुरक्षित रूपमा खोल्न र बन्द गर्न आवश्यक पर्ने नियन्त्रण रडमा खराबी देखिएपछि प्रक्रिया सुरु भएको केही घन्टापछि रियाक्टर बन्द गर्नुपरेको ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ (टेपको)’ले जानकारी दिएको छ । संयन्त्र कहिलेसम्म बन्द रहनेछ भन्ने कुरा खुलाइएको छैन । टेपकोले निलम्बनपछि अवस्थाको जाँच भइरहेको बताएको छ ।
जापानले १५ वर्षपछि विश्वकै सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र पुन: सुरु गर्ने तयारी गरेको थियो । फुकुसिमा दुर्घटनापछि देशभरका आणविक ऊर्जा संयन्त्र बन्द गरेको जापानले अब फेरि आणविक ऊर्जातर्फ मोडिएको छ । सन् २०११ को महाभूकम्प र पछि आएको सुनामीका कारण फुकुसिमास्थित संयन्त्र दुर्घटनामा परेपछि जापानको आणविक ऊर्जा पूर्वाधारमाथिको विश्वासमै धक्का लागेको थियो ।
फुकुसिमाको संयन्त्र पनि टेप्कोद्वारा सञ्चालित थियो । कासिवाजाकी–कारिवा संयन्त्रमा रहेका सातमध्ये एउटा मात्र रिएक्टर बुधबार पुन: सुरु हुनेछ । पूर्णरूपमा सञ्चालनमा आएपछि त्यस संयन्त्रले ८.२ गिगावाट बिजुली उत्पादन गर्नेछ । यो ऊर्जा संयन्त्र निगातास्थित जापान सागरको तटमा ४.२ वर्गकिलोमिटर (१.६ वर्गमाइल) जमिनमा फैलिएको छ ।
तटीय क्षेत्रमा विन्ड पावर (वायु ऊर्जा) निर्माणमा अवरोध सामना गरिरहेको जापानले ऊर्जा सुरक्षा बलियो बनाउन र खनिज इन्धनमाथिको निर्भरता कम गर्न आणविक ऊर्जामा ध्यान मोडेको छ । कासिवाजाकी–कारिवा सञ्चालनमा रहेका ३३ मध्ये पुन: सुरु गर्न लागिएको १५औँ आणविक ऊर्जा संयन्त्र हो ।
सन् २०११ को प्रकोपपछि जापानले देशका सबै ५४ आणविक ऊर्जा रिएक्टर बन्द गरेको थियो । पुनर्जीवित गर्न सम्भव भएका प्लान्टहरू पुन: सुरु गर्नुका साथै प्रधानमन्त्री सानाई ताकाइचीले नयाँ रिएक्टरहरूको निर्माणका लागि जोड दिइरहेकी छिन् ।