कीर्तिपुरको बस्ती, दुर्गममा जस्तो सास्ती (भिडियोसहित)

आइतबार, १८ माघ, २०८२
डिजिटल संस्करण

देशका दुर्गम गाउँसम्म सडक सञ्जाल पुगिसकेको छ । तर, राजधानीको कीर्तिपुरमा एउटा यस्तो बस्ती छ, जहाँ अझै हिँडेर जाने बाटोसमेत बन्न सकेको छैन । कीर्तिपुर नगरपालिका– ४, दुधपोखरीमा स्थानीय तहबाट स्वीकृति लिएर व्यापारीले जग्गा विकास गरेर बिक्री गरेका थिए । स्थानीय तहले जग्गामा कच्ची बाटो रहेको भनेर सिफारिस गर्यो । तर, अहिले सडक भनिएको ठाउँमा खोला मात्र छ । जसकारण त्यहाँ जान हिँड्ने सडकसमेत नभएपछि स्थानीय बासिन्दा विलखबन्दमा परेका हुन् ।

एक वर्षदेखि धाउँदा पनि स्थानीय तहले आफूहरूको पीडा नबुझेको स्थानीयको दु:खेसो छ । जग्गा व्यवसायी र स्थानीय तह दुवैको कारण आफूहरू समस्यामा परेको पीडितमध्ये एक दीपेन्द्र शाही बताउँछन् । ‘जग्गामा कच्ची बाटो छ भनेर स्थानीय तहले सिफारिस गरेका आधारमा हामीले जग्गा खरिद गर्यौँ,’ उनले भने, ‘तर, अहिले हिँड्ने बाटो पनि छैन, गत वर्ष जग्गामा बाढी पस्यो, खोला नापेर सडक बनाउन हारगुहार गर्दै आएका छौँ, सुनुवाइ हुन सकेको छैन ।’ समस्या सुनाउँदा जग्गा प्लटिङ गर्ने व्यवसायी र स्थानीय दुवै पन्छिने गरेको उनको भनाइ छ ।

स्थानीय सुन्तली तामाङ पक्षघातबाट पीडित छिन् । उनलाई वेलावेलामा अस्पताल लगिरहनुपर्छ । तर, बोक्न नसक्दा उनलाई समयमा अस्पतालसमेत लैजान नसकिएको उनका परिवारको गुनासो छ । ०८१ असोजको बाढी खोलाबाट बस्तीमै पसेको थियो । त्यसपछि स्थानीयले आफ्नै खर्चमा खोला ठुलो बनाएर बाढी रोक्ने प्रयास गरेका छन् । सडक बनाउन पनि आफैँले प्रक्रिया अघि बढाएकोमा वडाले रोकेको स्थानीय बताउँछन् । 

स्थानीयले गत वर्ष पुसमै समस्या समाधानका लागि वडा कार्यालय र नगरपालिकामा निवेदन दिएका थिए । तर, आफ्नो समस्यामा वडा र नगरपालिका गम्भीर नभएको स्थानीय निता कुँवर बताउँछिन् । 

कीर्तिपुर– ४ का अध्यक्ष राजेन्द्र बानियाँ त्यहाँको समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको बताउँछन् । खोलाको मापदण्डसम्बन्धी विवाद र पुरानो नापी भएकाले सडक बनाउन समस्या भएको उनको भनाइ छ । ‘यही सातादेखि त्यस ठाउँमा पुन: नापी हुँदै छ,’ उनले भने, ‘त्यसपछि त्यहाँको समस्या समाधानको प्रक्रिया अघि बढ्छ ।’ 

सुझावित समाचार