चक्रपथ दोस्रो खण्डको निर्माणमा लाग्ने सबै करमा चीनलाई छुट

निर्माण सामग्री, मेसिनलगायतका वस्तु आयातमा भन्सार छुट दिइने

आइतबार, १८ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं चक्रपथ दोस्रो खण्ड अर्थात् कलंकी–वसुन्धाराको निर्माणमा नेपाल सरकारले चीनलाई सबै प्रकृतिको करमा छुट दिने भएको छ । चिनियाँ अनुदानमै बनेको चक्रपथको विस्तार पनि चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा हुँदै छ । त्यसमा सरकारले पहिलो खण्ड कोटेश्वर–एकान्तकुना–कलंकीमा जस्तै दोस्रो खण्डको विस्तारमा पनि सबै प्रकृतिको कर छुट दिने भएको हो ।

हालै अर्थ मन्त्रालयले कर छुट दिने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमति प्रदान गरेको छ । सहमति प्राप्त भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘कार्यान्वयन सम्झौता’को मस्यौदा मन्त्रिपरिषद् पठाउनेछ । मन्त्रिपरिषद्बाट स्वीकृति आएपछि नेपाल र चीन सरकारबिच कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ । त्यसपछि चीन आफैँले ठेकेदार छनोट गरेर निर्माणको काम गर्न पठाउनेछ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले चक्रपथ दोस्रो खण्डको निर्माणमा चिनियाँ पक्षलाई कर छुट दिने गरी अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको बताए । ‘यो कार्यान्वयन सम्झौताको महŒवपूर्ण पक्ष हो । कार्यान्वयन सम्झौताका अन्य प्राविधिक विषयमा हाम्रै मन्त्रालयले टुंगो लगाएको छ । कर छुटको विषयमा भने अर्थ मन्त्रालयकै सहमति आवश्यक थियो । त्यसमा अर्थ मन्त्रालयले सबै प्रकृतिका कर छुट दिने गरी सहमति प्रदान गरेको छ,’ उनले भने, ‘अब योसहित सर्तसहितको कार्यान्वयन सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् पेस गर्नेछौँ । सम्भवत: आइतबार नै मन्त्रिपरिषद्मा प्रस्ताव पेस हुन्छ ।’

सरकारले पहिलो खण्डको विस्तारमा पनि कर छुट दिएको थियो । सोहीअनुसार दोस्रो खण्डमा पनि कर छुट प्रदान गर्ने निर्णय गरिएको हो । ढकालका अनुसार निर्माण सामग्री, मेसिनलगायतका कुनै पनि वस्तु आयात गर्दा भन्सार विन्दुमा लाग्ने सबै प्रकृतिका करमा छुट दिइनेछ । यसैगरी तलब, निर्माण सामग्री खरिदलगायतका शीर्षकमा आन्तरिक रूपमा लाग्ने करमा पनि छुट दिइनेछ । अनुदान भएका कारण कर छुट दिनुपर्ने दायित्व नेपाल सरकारको रहेको उनको भनाइ छ । 

चीनसँग ‘कार्यान्वयन सम्झौता’ गर्नुपर्ने प्रक्रिया पूरा नगर्दा चक्रपथ दोस्रो खण्डको काम रोकिएको थियो । यो प्रक्रिया पूरा नहुँदा चिनियाँ पक्ष काममा आउन सकेको छैन । चीनले तयार भइसकेको यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि बुझाएको छैन । तर, अब यसलाई अन्तिम टुंगो लगाएर काम अघि बढाउने नेपालको तयारी छ ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजना सात वर्षदेखि अलपत्र छ । सोही क्रममा पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडकखण्ड विस्तार गर्न चीन र नेपालबिच सम्झौता भएको थियो । त्यसपछि चीनको सिसिसिसी फस्र्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउने प्रक्रिया अघि बढाएको थियो । यसका लागि उक्त कम्पनी गत वैशाखदेखि फिल्डमा थियो । कम्पनीले परियोजनाको डिपिआर तयार गरिसकेको छ ।

कार्यान्वयन सम्झौता गरेपछि डिपिआर बुझाउने चीनको तयारी छ । डिपिआर सडक विभागबाट स्वीकृति भएपछि काम सुरु गर्ने चीनको योजना छ । त्यसका लागि चीन आफैँले छिटो कार्यान्वयन सम्झौता गर्न दबाब दिएको छ । अब छिट्टै यसलाई अन्तिम टुंगोमा पुर्याइनेछ । 

चीनकै अनुदानमा सन् १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । त्यसलाई चीनकै अनुदानमा विस्तार गर्ने गरी पहिले नै द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकी खण्डको विस्तार गर्ने काम ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्ने गरी २०७५ मै नेपाल र चीनबिच सम्झौता भएको थियो ।  दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायणगोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धारा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गर्दै छ । त्यो पनि कोरोना काललगायतका कारण अघि बढ्न सकेको थिएन । अब भने यो परियोजना अघि बढ्ने मामिलामा आशावादी रहेको विभागका अधिकारीहरू बताउँछन् । ८.२ किलोमिटर क्षेत्रमा साइट क्लियरेन्स भने भइसकेको छ । 

कस्तो बन्दै छ दोस्रो खण्ड ?
चीनले डिजाइनको प्रारम्भिक अवधारणा अर्थात् ‘टेक्निकल कन्फर्मेसन’ यसअघि नै पठाएको छ । त्यसअनुसार पहिलो खण्डको भन्दा फरक डिजाइनमा दोस्रो खण्डको विस्तार गरिँदै छ । चक्रपथ विस्तारको पहिलो (कलंकी–एकान्तकुना–कलंकी) खण्डमा कुल आठ लेनको सडक छ । त्यसमा बिचमा दुई–दुई लेनको मुख्य सडक र दायाँ–बायाँ दुई–दुई लेनको सर्भिस लेन छ । साथै, मेन लेन र सर्भिस लेनको बिचमा फुटपाथ छ । 

दोस्रो खण्ड त्योभन्दा फरक बनाउने गरी यसअघि नै डिजाइनको प्रारम्भिक अवधारणा आएको थियो । त्यसमा दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । त्यसपछि दायाँ–बायाँ पौने तीन मिटरको फुटपाथ निर्माण गरिनेछ । मिडियनदेखि फुटपाथसम्मको चौडाइ ३८.८ मिटरको हुनेछ । फुटपाथपछि दायाँ–बायाँ चार–चार मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । हरियाली क्षेत्रपछि दुवै साइटमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइटमा थप पाँच–पाँच फिटको फुटपाथ बनाइनेछ । यद्यपि, यो चीनले बुझाउने अन्तिम डिपिआरमा निर्भर रहनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल भन्छन्–
चक्रपथ दोस्रो खण्डको निर्माणमा चिनियाँ पक्षलाई कर छुट दिने गरी अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको छ । यो कार्यान्वयन सम्झौताको महŒवपूर्ण पक्ष हो । अन्य प्राविधिक विषयमा हाम्रै मन्त्रालयले टुंगो लगाएको छ । कर छुटको विषयमा भने अर्थ मन्त्रालयकै सहमति आवश्यक थियो । त्यसमा अर्थ मन्त्रालयले सबै प्रकृतिका कर छुट दिने गरी सहमति प्रदान गरेको छ । अब योसहित सर्तसहितको कार्यान्वयन सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् पेस गर्नेछौँ । सम्भवत: आइतबार नै मन्त्रिपरिषद्मा प्रस्ताव पेस हुन्छ ।

See More On

सुझावित समाचार