प्रश्न गर्नेहरू जवाफ दिने यात्रामा

जो पत्रकारिताबाट सांसदको उम्मेदवार बनेर राजनीतिमा होमिए

आइतबार, १८ माघ, २०८२
डिजिटल संस्करण

भक्तपुर– २ मा कांग्रेसको तर्फबाट प्रतिनिसिधा सदस्यको उम्मेदवार छन् कविर राणा । ३७ वर्ष सक्रिय पत्रकारिता गरेका उनले सांसदको टिकट पाएपछि यात्रा बदले । ०४६ देखि पत्रकारितामा आबद्ध राणा अनवरत प्रश्न बोकेर हिँडिरहे । सरकारको खबरदारी गरे, अख्तियारको दुरुपयोग गर्नेहरूविरुद्ध प्रश्न उठाए । राजनीतिक दल र नेतालाई जवाफदेही बनाउन घच्घचाए । तर, प्रश्नको चित्तबुझ्दो जवाफ नपाएको बताउने उनी अन्तत: आफैँ जवाफ दिने ठाउँमा पुग्न खोज्दै छन् । 

‘मैले ३७ वर्षसम्म निरन्तर पत्रकारिता गरेँ । रिपोर्टरदेखि पत्रिकाको प्रधानसम्पादकसम्म भएँ । सरकार र नेताहरूलाई जनताप्रति उत्तरदायी हुन प्रश्न गरिरहेँ । तर, चित्तबुझ्दो जवाफ आएन । जनताले चाहेको काम भएन । राजनीतिमा मेरो प्रवेश यही समस्या चिर्न हो,’ राणा भन्छन् । 

परिवर्तनको दृष्टिकोणबाट ०४६ नयाँ पानीढलो बन्यो । ३० वर्षे पञ्चायती शासन व्यवस्था सधैँका लागि अन्त्य भयो । सबैले सोचेका थिए, अब मुलुकमा विकासको मूल फुट्नेछ । उद्योगधन्दा फस्टाउनेछन्, रोजगारी बढ्नेछ । त्यति वेला युवावस्थाका राणालाई पनि यो सपनाले तानेको थियो । तर, ३७ वर्षसम्म मुलुकले आशातीत फड्को मार्न सकेन । नयाँ पुस्ताको काँधमा आएको कांग्रेसले अब यो जिम्मेवारी पूरा गर्ने राणाको ‘राजनीतिक स्टेटमेन्ट’ छ । 

रामप्रसाद दाहाल महासचिव, नेपाल पत्रकार महासंघ
यो निर्वाचनमा धेरै पत्रकार उम्मेदवार बनेका छन् । कति उम्मेदवार बने त्यसको तथ्यांक छैन । पत्रकार राजनीतिमा लाग्नु बेठिक होइन । तर, उनीहरू पत्रकारिताबाट भने अब अलग हुनुपर्छ । किनकि पत्रकारिता र राजनीति सँगै जान सक्दैन ।

‘मैले पत्रकारिता सुरु गरेकै समयमा मुलुकमा राजनीतिक परिवर्तन भयो । तर, नागरिकले आशा गरेअनुसार विकासको मूल फुटेन । यो अभिभारा अब बदलिएको कांग्रेसले पूरा गर्न सक्ने भनेर म कांग्रेसमा जोडिएको हुँ ।’ 

हरदिन प्रश्न गरेर ३७ वर्ष गुजारेका अर्का पत्रकार ऋषि धमलाले पनि ६ माघमा एकाएक यात्रा बदले । रौतहट– ४ मा आम जनता पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनले एकचरण प्रचारप्रसार पनि भ्याइसकेका छन् । ऋषिको पत्रकारिता यात्रा हकरदेखि सुरु भएर टेलिभिजनको मालिकसम्म पुग्यो । टेलिभिजन सञ्चालक भए पनि उनी अन्तिम दिनसम्म पनि निरन्तर रिपोर्टरकै रूपमा सक्रिय रहे । पत्रिका, रेडियो र टेलिभिजनको पर्दाबाट नेतासँग जवाफ मागे । तर, अब उनी आफैँ जवाफ दिने सदनमा पुग्न चाहन्छन् ।

‘जीवनमा जति हासिल गरेँ, ३७ वर्षदेखि गरेको पत्रकारिताबाटै गरेँ । यो अवधिमा धेरैसँग प्रश्न गरेँ । तर, अब म जवाफ दिने ठाउँमा पुग्न चाहन्छु । राजनीतिलाई नै निरन्तरता दिन्छु,’ उनले भने । 

ललितपुर– २ बाट उम्मेदवार रहेका जगदीश खरेललाई सक्रिय पत्रकारिता गर्दागर्दै मन्त्री बन्ने अवसर मिल्यो । चार महिना चुनावी सरकारको मन्त्री खाएका खरेल रास्वपाबाट टिकट लिएर मैदानमा उत्रिएका छन् । 

खरेलले २५ वर्षसम्म इमेज टेलिभिजनको स्टुडियोमा उभिएर धेरै नेतालाई प्रश्न गरे । जनताप्रति उत्तरदायी बन्न निरन्तर घचघच्याए । तर, देश र जनताको परिस्थिति नबदलिएको भन्दै उनी आफैँ बदल्ने भूमिकामा होमिएका छन् । 

‘मैले देशका धेरै जिम्मेवार नेतासँग टेलिभिजन सेटमा प्रश्न गरेँ । उनीहरूसँग जवाफ मागेँ । अब म भूमिका बदलेर प्रश्न गर्ने ठाउँबाट जवाफ दिने यात्रामा हिँडेको छु । जनतालाई चित्तबुझ्दो जवाफ दिने मेरो लक्ष्य हो ।’  

जन्मदेव जैसी, सधैँ बागी छवि । २२ वर्षदेखि सक्रिय पत्रिकारितामा रहेका उनी पनि राजनीतिमा होमिएका छन्, भक्तपुर– २ बाट उम्मेदवारी दिएर । श्रमजीवी पत्रकारका मुद्दामा सधैँ अग्रमोर्चामा उभिएर विद्रोह गरेका उनी अब संसद् पुग्न चाहन्छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट टिकट पाएका उनले अब संसद् गएर आममजदुरका आवाज बोल्ने बताए । 

‘२२ वर्षसम्म पत्रकारिता गरेँ । यो अवधिमा श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाएँ । मालिकको नजरमा म सधैँ बागी बनेँ,’ उनले भने, ‘अहिले म भक्तपुरमै बस्छु, भक्तपुरबाटै टिकट पाएको छु । यो मजदुरहरूको जिल्ला हो । मजदुरको समस्या बुझ्ने मबाहेक उपयुक्त उम्मेदवार छैनन् । यसैका लागि मेरो उम्मेदवारी हो ।’

पत्रकारिता छाडेर राजनीतिमा होमिएका राजीव खत्री पनि भक्तपुर– २ मै चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाबाट टिकट पाएका उनले २० वर्ष सक्रिय पत्रकारिता गरे । पछिल्लो समय न्युज २४ टेलिभिजनमा काम गर्दै थिए । भूमिका बदल्दै रास्वपा प्रवेश गरेका उनले टिकट पनि पाइहाले । 

‘प्रश्न धेरै गरियो, तर जवाफ कार्यान्वयन भएको पाइनँ,’ उनले भने, ‘अब आफैँ जवाफ दिने ठाउँमा गएर कार्यान्वयन पनि गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएको छु ।’ 

धनुषा– ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर शाह पनि ५ माघसम्म पत्रकारितामै सक्रिय थिए । रिपोर्टिङका क्रममा भुइँमान्छेका समस्या नजिकबाट बुझेको भन्दै उनले ती समस्याको समाधान खोज्न राजनीति रोजेको बताए । ‘पटक–पटक जनताको मत लिएर गएका सांसद मन्त्री बने, तर जनताको समस्या जस्ताको तस्तै छ,’ उनले भने, ‘म सदनमा पुगेँ भने उनीहरूको आवाज उठाउनेछु, समस्या सम्बोधन गर्न पहल गर्नेछु ।’ 

काठमाडौं– ९ मा जनमोर्चाबाट उम्मेदवार रहेका रोशन दानी पनि पत्रकार हुन् । ‘२० वर्षदेखि पत्रकारितामा होमिएर विभिन्न साप्ताहिक, मासिक र टेलिभिजनमा काम गरेँ । पत्रकारको प्रश्नले खबरदारी त गर्छ, तर नागरिकलाई डेलिभरी दिन राजनीति नै गर्नुपर्दोरहेछ । जनताको सेवामा समर्पित हुन राजनीति रोजेको हुँ,’ उनले भने । 

यीबाहेक सक्रिय पत्रकारितालाई बिराम दिएर निर्वाचनमा होमिएका पत्रकार बाराकी प्रियंका दास, सिन्धुपाल्चोकका प्रमोद न्यौपाने, जुम्लाका मनऋषि धिताल, हुम्लाका दीपेन्द्र रोकाय र कञ्चनपुरका ज्ञानेन्द्र महता पनि हुन् । त्यसमध्ये दास कांग्रेसबाट, न्यौपाने र महता रास्वपाबाट समानुपातिक उम्मेदवार हुन् । धिताल प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट जुम्ला– १ बाट उम्मेदवार छन् । त्यस्तै, रोकाय नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हुम्लामा उम्मेदवार छन् । 

प्रतिनिधिसभामा मुलुकभर उम्मेदवार बनेका पत्रकारहरूको यकिन संख्या नेपाल पत्रकार महासंघसँग पनि छैन । महासंघ महासचिव रामप्रसाद दाहाल पत्रकारले पत्रकारिताबाट अलग भएर मात्रै राजनीतिमा प्रवेश गर्नु ठिक भएको बताए । ‘यो निर्वाचनमा धेरै पत्रकार उम्मेदवार बनेका छन् । कति उम्मेदवार बने त्यसको तथ्यांक छैन । पत्रकार राजनीतिमा लाग्नु बेठिक होइन । तर, उनीहरू पत्रकारिताबाट भने अब अलग हुनुपर्छ । किनकि पत्रकारिता र राजनीति सँगै जान सक्दैन,’ उनले भने ।

पूर्वपत्रकार पनि राजनीतिमा 
हाल राजनीतिमा सक्रिय पूर्वपत्रकारको संख्या अझ धेरै छ । रास्वपा सभापति रवि लामिछाने पत्रकारिताबाटै राजनीतिमा छिरेका हुन् । उनी चितवन– २ का उम्मेदवार हुन् । नेकपाबाट काठमाडौं– १० मा उम्मदेवार बनेकी रूपा महर्जन पनि पूर्वपत्रकार हुन् । अजबाबु सिवाकोटी दोलखामा उम्मेदवार छन् । उनी पनि पूर्वपत्रकार हुन् । राप्रपाबाट काठमाडौं–६ का उद्धवराज भेटवाल पनि पूर्वपत्रकार हुन् । राप्रपाबाटै झापा–२ मा उम्मेदवार बनेका स्वागत नेपाल पनि पूर्वपत्रकार हुन् । त्यस्तै, प्युठानबाट एमाले उम्मेदवार सूर्य थापा तथा रास्वपाबाट उम्मेदवार बनेका कञ्चनपुर–२ का दीपक बोहरा, चितवन–३ की सोबिता गौतम र झापा– २ की निशा डाँगी पनि पूर्वपत्रकार नै हुन् ।

See More On

सुझावित समाचार