बंगलादेश र भारतले पोखरामा सुरु साफ यू–१९ महिला च्याम्पियनसिप २०२६ मा विजयी सुरुवात गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका, अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना एवं कास्की जिल्ला फुटबल संघको स्थानीय व्यवस्थापनमा शनिबारदेखि सुरु च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले भुटानलाई र दोस्रो खेलमा भारतले नेपाललाई पराजित गरेका हुन् ।
पोखरा रंगशालास्थित फुटबल स्टेडियममा सुरु च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले फराकिलो अन्तर १२–० गोलले भुटानलाई र भारतले १–० गोलअन्तरले नेपाललाई पराजित गरेको हो ।
बंगलादेशको जितमा तीन खेलाडीले ह्याट्रिक पूरा गर्दा खेलको अतिरिक्त समयमा मात्र चार गोल गरेका थिए । खेलको २८औँ मिनेटमा मामोनी चक्माले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । खेलको ४३औँ मिनेटमा मोती त्रिसना रानीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । ४४औँ मिनेटमा मोस्ट मुन्की अख्तरले गोल गर्दै अग्रता तेब्बर पारेकी उनले ४५+३ मिनेटमा टोलीका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् ।
पहिलो हाफमा चार गोलले अग्रता लिएको बंगलादेशका लागि लगातार ५४ र ६०औँ मिनेटमा गोल गर्दै मोतीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को अग्रता दिलाएकी थिइन् । खेलको ७३, ८६ र ९०+५ मिनेटमा गोल गदै अल्पी अख्तरले ह्याट्रिक पूरा गर्दा खेलको ८१औँ मिनेटमा गोल गर्दै मोस्ट मुन्कीले ह्याट्रिकसँगै ९०+३ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन् । खेलको ९०+४ मा अरपिता विश्वासले गोल गरेको थिइन् ।
दोस्रो खेलमा भारतले ४९औँ मिनेटमा गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो । पहिलो हाप गोलरहित भएकोमा दोस्रो हापको चौथो मिनेट अर्थात् खेलको ४९औँ मिनेटमा पर्ल फर्नान्देजले गरेको गोल नै भारतको जितका लागि निर्णायक बनेको थियो ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले आफूहरूले प्रशिक्षणका क्रममा प्रयोग गरेको बल र प्रतियोगितामा खेलेको बल फरक भएकाले त्यसको असर खेलाडीको प्रदर्शनमा परेको बताए । बल फरक रहेछ, बलका कारण खेलाडीले जति खेल्नुपर्ने हो खेल्न सकेनन्, सँगै छोटो समयको तयारीका कारण पनि सोचेअनुसारको प्रदर्शन गर्न सकिएन । हामीले प्रयास गरेको हो, तर केही कमजाेरीका कारण गोल खान पुग्यौँ र हारका लागि त्यही एक गोल नै पर्याप्त बन्यो । समग्रमा टोलीको प्रदर्शन राम्रो हो, फिनिसिङ राम्रो गर्न नसक्दा पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा पनि हार व्यहाेर्न पुग्याैँ ।
भारतका प्रशिक्षक पामेला कन्टले खेलाडीले जुन रूपमा प्रदर्शन गर्नुपर्ने थियो मैदानका कारण गर्न र खेल्न नसकेको बताइन् । यस्तो मैदानमा पहिलोपटक खेलेको र मैदान राम्रो नभएको उनको भनाइ थियो । बंगलादेशका प्रशिक्षक पिटरजेम्स पोखराको मैदान फुटबलका लागि उपयुक्त नभएको बताए । मैदानका कारण खेलाडीले बढी मिहिनेत गर्नुपरेको उनको भनाइ थियो ।
सिंगल राउन्डरोबिनका आधारमा सञ्चालन गरिएको च्याम्पियनसिपको शीर्ष स्थान रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपअन्तर्गत १९ गते पहिलो खेल बंगलादेश र भारतबिच हुँदा दोस्रो खेल भुटान र नेपालबिच हुनेछ । २१ गते पहिलो खेल भारत र भुटान, दोस्रो खेल नेपाल र बंगलादेशबिच हुनेछ । सहभागी टोलीले सामान तीन–तीन खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टोलीबिच २४ गते फाइनल खेल हुनेछ ।