प्रहरी विशेष सुरक्षा गणलाई पुस्तक तथा खेलकुदका सामग्री प्रदान

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही पुस्तक तथा स्टेसनरी वस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा खेल सामग्री प्रदान गरेको छ। संघअन्तर्गत गठित  वस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजारभन्दा बढीको पुस्तक तथा खेलकुदका सामग्री प्रदान गरेको हो।

नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, वस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपति प्रहरी उपरीक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा खेलकुदका सामग्री हस्तान्तरण गरे।

त्यस अवसरमा संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसँग टाढा रहेर देशको शान्तिसुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा खेलकुदका सामग्री साथी बन्न सक्ने बताउँदै पठन संस्कृतिको समेत विकास हुने विश्वास व्यक्त गरे।

त्यस्तै, पुस्तक तथा स्टेसनरी वस्तुगत समितिका सभापति शर्माले समितिले सामाजिक उत्तरदायित्व बहन गरी विगतका वर्षमा गरिब तथा विपन्न परिवारका बालबालिका, कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान गरिएको बताउँदै योपटक नेपाल प्रहरी विशेष सुरक्षा गणको आवश्यकताका आधारमा सक्दो पुस्तक तथा खेलकुदका सामग्री प्रदान गरिएको बताए।

त्यस अवसरमा नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपति प्रहरी उपरीक्षक मल्लले आफूहरूको सानो आग्रहमा गणमा आएर पुस्तक तथा खेलकुदका सामग्री प्रदान गरेको बुटवल उद्योग वाणिज्य संघ र पुस्तक तथा स्टेसनरी वस्तुगत समितिलाई आभारसहित धन्यवाद व्यक्त गरे।

कार्यक्रममा जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष ज्ञानु गुरुङको समेत सहभागिता रहेको थियो। कार्यक्रम प्रहरी सहायक निरीक्षक शम्भु नेपालले सञ्चालन गरेका थिए।

सुझावित समाचार