वस्तुले घाँस खाएकाे निहुँमा संखुवासभाकाे चैनपुरमा झगडा हुँदा धारिलो प्रहार गरी घटनास्थलमै एकजनाकाे मृत्यु भएकाे छ। आज (शनिबार)जिल्लाको चैनपुर नगरपालिका-१०, इखम्बू घर भएका ४७ वर्षीय लीलाप्रसाद राईकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी निरीक्षक मेघराज अर्यालले बताए।
उनकाा अनुसार शनिबार बेलुकी साढे ५ बजे दुवै छिमेकीबिच वस्तुले घाँस खाएकाे निहुँमा लीलाप्रसाद राई र ५९ वर्षीय शिवकुमार राईबिच विवाद भएकाे थियाे। विवादकाे क्रममा शिवकुमारले कम्मरमा बाेकेकाे धारिलो हतियार(खुकुरी) निकाली लीलाप्रसादलाई प्रहार गर्दा घटनास्थलमै मृत्यु भएकाे प्रहरी निरीक्षक अर्यालकाे भनाइ छ।
घटनास्थलमा खराङ प्रहरी चाैकी र चैनपुर इलाका प्रहरी कार्यालयबाट प्रहरी पुगी घटनाकाे अनुसन्धान भइरहेकाे छ भने प्रतिवादी शिवकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।