रोल्पा महोत्सवको उद्घाटन ज्येष्ठ नागरिकबाट, कृषकलाई पुरस्कार

शनिबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेता, जनप्रतिनिधि वा ठुला भनिएका व्यक्तिहरूबाट मात्रै गरिने मेला महोत्सवको उद्घाटन परम्परालाई तोड्दै रोल्पाको लिबाङस्थित सन–स्टार युवा क्लबले ज्येष्ठ नागरिकबाट महोत्सवको उद्घाटन गरेको छ। आगामी माघ २५ गतेसम्म सञ्चालन हुने ‘रोल्पा जलजला महोत्सव –२०८२’ को लिबाङका स्थानीय ९२ वर्षीय ज्येष्ठ नागरिक टीकाबहादुर जिसीले पानसमा बत्ती बालेर महोत्सव सुरु भएको घोषणा गरे।

‘कृषि, पर्यटन, उद्योग, खेलकुद र कला संस्कृतिको विकास हाम्रो अभियान, रोल्पाको विकासमा हामी सबैको हातेमालो र जागरण’ भन्ने उद्देश्य राखेको क्लबले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएको क्लबका अध्यक्ष पूर्ण केसीले बताए। ‘हामीले कृषि उत्पादनलाई प्रदर्शनीमा राखेर पुरस्कृत पनि गरिरहेका छौँ,’ अध्यक्ष केसीले भने, ‘सबै किसिमका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ स्टलहरूमा राखेका छौँ, स्थानीय उत्पादन नै हाम्रो प्राथमिकता हो।’

कृषि उत्पादनलाई प्रदर्शनीमा ल्याएकालाई पुरस्कृतसमेत गरिनेछ। जिल्ला कृषि विकास कार्यालय र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँगको समन्वयमा कृषितर्फ पहिलो हुनेले १३ हजार पाँच सय, दोस्रो हुनेले १० हजार ८ सय, तेस्रो हुनेले नाै हजार र सान्त्वना हुनेले एक हजार ६ सय पुरस्कार पाउने बताइएको छ। त्यस्तै, प्रदर्शनीमा राखिएका पशुपन्छीतर्फका विभिन्न सात पशुपन्छीलाई पुरस्कृत गरिनेछ।

दशवटै स्थानीय तहबाट झाँकी
महोत्सवमा रोल्पामा रहेका दशवटै स्थानीय तहबाट आफ्नो पहिचान झल्किने खालको झाँकी प्रदर्शन भइरहेका छन्। १० दिनसम्म प्रत्येक दिन एउटा स्थानीय तहले आफ्नो उत्कृष्ट झाँकी प्रदर्शन गरिने मेला मूल आयोजक समितिका संयोजक यामबहादुर गुरुङले जानकारी दिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसँगै लोक संस्कृतिसँग सम्बन्धित झाँकीहरू पनि दर्शकका लागि आकर्षणका रूपमा रहेको संयोजक गुरुङको भनाइ छ।

महोत्सवमा कला संस्कृति, घरेलु तथा साना उद्योगबाट उत्पादित चिजवस्तु, पर्यटकीय गन्तव्यहरू, स्थानीय परिकारलगायतको स्टल राखिएका छन्। त्यस्तै, व्यापारिक प्रयोजनका लागि लत्ताकपडा, बालउद्यान, खाजा परिकारलगायतका स्टलहरू पनि रहेको आयोजकले जनाएको छ। महोत्सवमा जिल्लामा उत्पादित वस्तुलाई प्राथमिकता दिँदा त्यसको प्रचारप्रसार तथा बजारीकरणमा बढोत्तरी हुने आयोजकको अपेक्षा छ। केही महिनाअघि राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको क्लबले पहिलोपटक महोत्सवको आयोजना गरेको हो।

 

सुझावित समाचार