वाराणसीमा पहिलोपटक नेपाल पर्यटन रोड साे

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)ले शुक्रबार (३० जनवरी) वाराणसीमा पहिलोपटक नेपाल पर्यटन रोड साे आयोजना गरेकाे छ। यस कार्यक्रमलाई नेपाल र भारतबिचको पर्यटन सहकार्य तथा जनस्तरको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

रोड साेमा सहभागी हुन नेपालबाट एक दर्जनभन्दा बढी सदस्यको प्रतिनिधिमण्डल शुक्रबार वाराणसी पुगेको छ। प्रतिनिधिमण्डलको नेतृत्व निक्कीकी पूर्वअध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) सिर्जना राणाले गरेकी छिन्। प्रतिनिधिमण्डलमा निक्कीका उपाध्यक्ष कुनाल कयाल, कार्यकारी सदस्य शशिकान्त अग्रवालसहित नेपालका प्रमुख पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको सहभागिता छ।

रोड साेको मुख्य उद्देश्य पूर्वी उत्तर प्रदेश र आसपासका क्षेत्रका भारतीय पर्यटकहरू माझ नेपाललाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु बताइएको छ। स्थानीय पर्यटन तथा होटेल व्यवसायीसँग प्रत्यक्ष संवादमार्फत नेपालका विविध पर्यटकीय स्थलहरू– तीर्थस्थल तथा आध्यात्मिक पर्यटन, साहसिक पर्यटन, स्वास्थ्य पर्यटन, सांस्कृतिक सम्पदा र आतिथ्य कार्यक्रमहरू प्रस्तुत गरिनेछ।

नेपालसँग गहिरो ऐतिहासिक तथा धार्मिक सम्बन्ध रहेको प्रमुख आध्यात्मिक एवं सांस्कृतिक केन्द्र भएकाले वाराणसीलाई भारतमा निक्कीको पहिलो पर्यटनकेन्द्रित रोड साेका लागि छनोट गरिएको हो। निक्कीका अधिकारीहरूका अनुसार वाराणसीको सशक्त आध्यात्मिक पहिचानले यसलाई सीमा पार पर्यटन सहकार्य प्रवर्द्धनका लागि उपयुक्त मञ्च बनाएको छ।

कार्यक्रममा ‘नेपाल र भारतको धार्मिक तथा आध्यात्मिक सर्किट’ नामक पुस्तकको विमोचन पनि हुनेछ। जसमा दुवै देशको साझा आध्यात्मिक सम्पदा र तीर्थमार्गहरूलाई उजागर गरिएको छ। पुस्तकमा रामायण सर्किट, शिव तथा शक्ति सर्किट, बुद्ध सर्किट तथा सिख सर्किटलगायत विभिन्न आध्यात्मिक मार्गहरूको विवरण समावेश गरिएको छ।

रोड साेमा उद्योगपति एवं पूर्वसांसद विनोद चौधरीको प्रमुख भाषण (किनोट एड्रेस) हुनेछ। चौधरी ग्रुपका अध्यक्ष चौधरी फोर्ब्समा सूचीकृत एक मात्र नेपाली डलर अर्बपति हुन्।

कार्यक्रममा भारतका ८० भन्दा बढी ट्राभल तथा टुरिजम संस्थासँगै व्यावसायिक जगतका प्रतिनिधिहरूको सहभागिता छ। यो पहलले दुवै देशका पर्यटन सरोकारवालाबिच बिजनेस–टु–बिजनेस नेटवर्किङ प्रवर्द्धन गर्न, सहकार्यका नयाँ अवसर खोज्न तथा आउँदो पर्यटन सिजनमा नेपालमा पर्यटक संख्या वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सुझावित समाचार