सल्यानका ४३ मतदानस्थल अतिसंवेदनशील

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

सल्यानका ४३ वटा मतदातस्थललाई अतिसंवदेनशीलको सूचीमा राखिएको छ । फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लाका ४३ मतदानस्थललाई अतिसंवेशनशील  र ५७ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।

जिल्लाको भौगोलिक विकटता, शान्तिसुरक्षाको अवस्था, सडकको पहुँच र सञ्चारको पहुँचलगायतलाई मध्यनजर गरेर अतिसंवेदनशील र संवेदनशील मतदानस्थल वर्गीकरण गरिएको  प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी दिए । 

अतिसंवेदनशील र संवेदनशील मतदानस्थललाई त्यहीअनुसार सुरक्षा व्यवस्था र आउजाउको समय पनि मिलाइएको उनले बताए । उनका अनुसार सल्यानमा रहेका ११७ मतदानस्थलमध्ये १७ मात्र सामान्य रहेका छन् । 

निर्वाचनका लागि आवश्यक पर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालनका लागि आवश्यक सबै व्यवस्थापन गरिसकेको सापकोटाको भनाइ छ । जिल्लामा रहेका सुरक्षाकर्मी पर्याप्त नहुँदा अन्य जिल्लाबाट मगाउने तयारी भइरहेको उनले बताए ।

सामान्यमा तीन, संवेदनशीलमा पाँच र अतिसंवेदनशील मतदानस्थलमा कम्तीमा सातजना सुरक्षाकर्मीको व्यवस्था गरिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

एक प्रतिनिधिसभा क्षेत्र रहेको सल्यानमा एक लाख ६२ हजार ४४९ मतदाताले मतदान गर्नेछन् । जसका लागि ११७ मदतानस्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको छ । 

सुझावित समाचार