राप्ती स्वास्थ्य प्रतिष्ठानमा सिटिस्क्यान खरिद गर्दा सात करोड हिनामिना

तत्कालीन उपकुलपति भण्डारी, कामु रजिस्ट्रार र निर्देशकसहित १९ जनाविरुद्ध मुद्दा

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिटिस्क्यान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसमा संलग्न तत्कालीन उपकुलपति र कर्मचारीसहित १९ व्यक्ति र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कर्मचारी र ठेकेदारले मिलेमतो गरेर प्रतिष्ठानलाई हानि पुर्याएको अभियोग अख्तियारको छ ।

ठेकेदारले गुणस्तरहीन तथा सर्त र मापदण्डविपरीतको मेसिन आपूर्ति गर्दा पनि गलत प्राविधिक परीक्षण प्रतिवेदन तयार गरेर झुटा बिल भर्पाईका आधारमा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भुक्तानी दिएको अख्तियारको आरोप छ । भुक्तानी भएको त्यही रकमलाई अख्तियारले बिगो कायम गरी संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन उपकुलपति प्राडा संगीतासिंह भण्डारीलाई प्रमुख प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । उनीविरुद्ध हिनामिना भएकै रकम सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँको बिगो छ । भण्डारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । एमआरआई मेसिन खरिदमा १२ करोड भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारीलगायतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारीलगायत पनि मुद्दाका प्रतिवादी छन् । लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालयन मेडिटेक प्रालि तथा त्यसका मुख्य भई काम गर्ने अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारसमेतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । आपसी मिलेमतो तथा योजनामा गैरकानुनी लाभ पुर्याएर प्रतिष्ठानलाई हानि गरेको अख्तियारको ठहर छ ।

प्रतिष्ठानका लागि सिटिस्क्यान मेसिन खरिद गर्दा आवश्यकताको पहिचान एवं गुरुयोजना नबनाई खरिद सार्वजनिक खरिद नियमावलीलगायत प्रचलित कानुन प्रतिकूल कारबाही अघि बढाएको अख्तियारको दाबी छ । सिटिस्क्यान खरिद गर्न प्राविधिक स्पेसिफिकेसन बनाई लागत अनुमान तयार गर्न ग्लोबल मेडिटेक इन्टरनेसनल प्रालि, आरबी मर्चेन्ट र हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग कोटेसन माग गरी नौ करोड २२ लाख ६९ हजार १३९ रुपैयाँको लागत अनुमान स्वीकृत गरेर खरिद प्रक्रिया अघि बढाइएको थियो ।

सिटिस्क्यानको आपूर्ति, ढुवानी र जडानका लागि २८ माघ ०७६ मा सार्वजनिक रूपमा राष्ट्रियस्तरको टेन्डर आह्वान गरिएको थियो । अभियोगपत्रमा उल्लेख भएअनुसार सार्वजनिक खरिद ऐनबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशन गरेको नमुना बोलपत्रसम्बन्धी कागजातको प्रतिकूल हुने गरी अन्तर्राष्ट्रिय बोलपत्रका लागि समावेश गर्नुपर्नेसमेतका कागजात प्रयोगमा ल्याएको भेटिएको छ । ऐनको व्यवस्था प्रतिकूल हुने गरी बदनियत राखी सरोकारवाला बोलपत्रदातासमेतको उपस्थितिविना बोलपत्र खोल्नुपूर्व नै बैठक बसेर प्राविधिक स्पेसिफिकेसनमा संशोधन गराएको अख्तियारको दाबी छ ।

प्राविधिक स्पेसिफिकेसनमा संशोधनपश्चात् ऐनबमोजिम लागत अनुमानमा समेत संशोधन गर्नुपर्नेमा कानुनी प्रावधानअनुसारको कार्य भएको नदेखिएको आरोपपत्रमा उल्लेख छ । सार्वजनिक खरिद ऐन र नियमावलीका व्यवस्थाको प्रतिकूल हुने गरी काबुबाहिरको विशेष परिस्थिति सिर्जना नरहेको अवस्थामा समेत पहिले नै स्वीकृत भइसकेको प्राविधिक स्पेसिफिकेसन कानुनले निर्धारण गरेको सर्त र अवस्थाविना नै संशोधन गरेको अभियोग छ ।

कानुनबमोजिम बोलपत्र प्राविधिक मूल्यांकन नगरी प्रतिष्ठानका रेडियोलोजी विभागका प्रमुख डा. बिसी, बायोमेडिकल इन्जिनियर भण्डारीद्वय र कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर चौधरीले ३० चैत ०७६ मा सिटिस्क्यान मेसिन प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरेर पेस गरेका थिए । प्राविधिक मूल्यांकन गर्दा सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बोलपत्र कागजातमा उल्लेख भएभन्दा न्यून गुणस्तर तथा क्षमताको ठेकेदारले पेस गरेअनुसारकै मेसिन स्वीकार गरेको भेटिएको अख्तियारको दाबी छ ।

खरिद प्रक्रियामा संलग्न भएको हिमालयन मेडिटेक प्रालि प्राविधिक मूल्यांकनमा असफल हुँदा पनि सफल गराएको भेटिएको छ । गलत प्राविधिक मूल्यांकन प्रतिवेदन पेस गरी त्यसलाई समेत आधार लिई खरिद मूल्यांकन समितिका पदाधिकारीले गैरकानुनी काम गरेको अख्तियारको दाबी छ । हिमालयन मेडिटेक प्रालिले पेस गरेको सात करोड २५ लाख २४ हजारलाई सारभूत रूपमा न्यूनतम र प्राविधिक रूपमा प्रभावकारी देखिएको आधार लिई त्यसैलाई छनोट गरेर अमेरिकी डलर ६ लाख १३ हजार कायम गरी आशयपत्र प्रकाशन गरिएको थियो । राष्ट्रियस्तरको बोलपत्र खरिद प्रक्रियामा हिमालयन मेडिटेकसँग अमेरिकी डलरमा सम्झौता गरेको भेटिएको छ । उत्पादक कम्पनी न्युसफ्ट मेडिकल सिस्टम कम्पनी लिमिटेडका नाममा प्रतीतपत्र खोल्ने निर्णय गरी प्रतीतपत्रका लागि हुने खर्चसमेत प्रतिष्ठानले नै व्यहोर्ने र भुक्तानी विनिमय दर डलर हुने गरी निर्णय गराइएको अख्तियारको दाबी छ । 

सुझावित समाचार