सहिद दिवसको अवसरमा शुक्रबार कर्मचारी सहिद प्रभुनारायण यादवको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली दिइएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समिति सप्तरीको कार्यालय परिसरमा स्थापना गरिएको उनको सालिकमा मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादव, पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, पूर्वप्रमुख प्रभाकर यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितका कर्मचारी, विभिन्न दलका नेतालगायतले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
वि.सं. २०१७ सालमा तिलाठी कोइलाडी गाउँपालिका– ८, बभनगामाकट्टीमा जन्मेका यादवलाई ०६४ साल कात्तिक १२ गते साँझ कार्यालयको काम सकेर मोटरसाइकल चढी घर फर्किँदै गर्दा राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गतको खाँडो पुलनजिकै आपराधिक समूहले गोली हानी हत्या गरेका थिए ।
उनी तत्कालीन जिल्ला विकास समिति सप्तरीको नायब सुब्बा पदमा कार्यरत थिए। स्थानीय तह कर्मचारी संघ सप्तरीको पहिलो जिल्ला अध्यक्षसमेत रहेका उनको हत्यापश्चात् कर्मचारीहरूको आन्दोलन तथा उक्त आन्दोलनमा पेसागत संगठन, राजनीतिक दल र नागरिक समाजको समेत सहभागिता बढ्दै गएपछि ०६४ साल कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्व. यादवलाई कर्मचारी सहिद घोषणा गरेको थियो ।