निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईलाई ३ प्रश्न

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

यतिखेर उम्मेदवारहरू घरदैलोमा छन् । आचारसंहिताले यसलाई अनुमति दिन्छ कि दिँदैन ?
सामान्यत: दुई–चारजना गएर मतदाता भेटघाट गर्ने कार्यलाई आचारसंहिताले रोक्दैन । मनोनयन दर्ता गरिसकेका उम्मेदवारलाई मतदाता भेट्न पाउँदैनौ भनेर रोक्ने या घरभित्रै थुनेर राख्ने कुरा पनि भएन । तर, ठुला आमसभा गर्ने, र्याली या जुलुस निकाल्नेजस्ता प्रचारात्मक कार्य भने गर्न पाइँदैन । फेरि, प्रचारप्रसारको समय छोटो हुनुपर्यो भनेर दलहरूकै तर्फबाट प्रस्ताव आएको हो । यसो गर्दा एकातिर उम्मेदवारहरूको खर्च पनि कम हुने र अस्वस्थ प्रतिस्पर्धा पनि नहुने भनेर उहाँहरूले नै अनुरोध गर्नुभएको हो । उहाँहरूले त मनोनयन दर्ता र निर्वाचनबिचको समय नै अलि छोटो गरौँ भन्नुभएको थियो । तर, मतपत्र छपाइलगायत आयोगका कामकारबाही मनोनयन दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपश्चात् मात्र सहज हुने भएकाले हामीले नै त्यसलाई अलि अगाडि राखेका हौँ । 

आचारसंहिता उल्लंघनका घटनाको आयोगले कसरी अनुगमन गर्छ ?
सामान्यतया आयोगले कुनै उम्मेदवार या दलबाट यो स्थानमा यसरी आचारसंहिता उल्लंघन भयो भनी उजुरी आएपछि नै त्यसबारे अध्ययन गर्छ । तर, उजुरी नै नआए पनि पत्रपत्रिका या अनलाइन सामग्रीबाट प्राप्त भएको सूचना या जानकारीलाई पनि ‘नोटिस’मा राखेर आयोगले छानबिन गर्छ । छानबिनबाट आचारसंहिता उल्लंघन भएको पाइएमा लिखित स्पष्टीकरण माग्ने काम हुन्छ । 

आचारसंहिता उल्लंघनकर्तालाई कस्तो प्रकृतिको कारबाही हुन सक्छ ?
आचारसंहिता उल्लंघन भएको देखिएमा सबैभन्दा पहिले स्पष्टीकरण सोधिन्छ । कारबाहीको यो नै पहिलो प्रक्रिया हो । कम्तीमा पनि कारबाही गर्नुअघि सम्बन्धित व्यक्ति या दललाई स्पष्टीकरणको मौका दिनुपर्छ । चित्तबुझ्दो स्पष्टीकरण आएमा समस्या भएन । तर, चित्तबुझ्दो स्पष्टीकरण नआएमा भने आचारसंहिता उल्लंघनकर्तालाई निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही हुन्छ । 

सुझावित समाचार