नेपाल प्रहरीको रासन स्केल बढाउने सरकारको निर्णय
सरकारले नेपाल प्रहरीको रासन बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम बढाउने निर्णय भएको हो। अन्य सुरक्षा निकायको तुलनामा प्रहरीको रासनस्केल कम भएपछि बढाउने निर्णय भएको हो।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विदेश भ्रमण स्वीकृत, प्रतिवेदन सार्वजनिक गर्नेलगायतका विभिन्न निर्णय गरेको छ।
तीमध्ये तीन निर्णयबारे सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। हालसम्म सार्वजनिक गरिएका तीन निर्णय यी हुन् :
१.नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा २०८२ माघ १८ देखि २१ सम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरियो,
२. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरियो,
३. मिति २०८२ ११ १ देखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो ।
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ, सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार
आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लंघनका घटना रोक्न निर्वाचन आचारसंहिता परिपालनामा कडाई गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन जारी गरेको छ।
यसअघि माघ १३ मा निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निस्पक्ष, पारदर्शी एवं विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक–कोष नियन्त्रकहरुलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो।
बारबर्दिया नगरपालिकाका इन्जिनियर मल्ल घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियरलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको पालिकाका इन्जिनियर मोहनदेव मल्ललाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो।
मल्ल पालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर हुन्। मल्लले वडा नं. ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको थिए।
रामेछापमा तीनपटक म्याद थप्दा पनि अपुग भए निर्वाचन प्रहरी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि माग गरिएको निर्वाचन प्रहरीमा तीनपटक म्याद थप गर्दा पनि आवेदन दिनेको संख्या अपुग भएको छ ।
निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले एक हजार ३३३ जना निर्वाचन प्रहरी माग गरेको थियो । प्रहरीले माग गरेअनुसार पहिलोपटक पर्याप्त मात्रामा आवेदन नपरेपछि दोस्राेपटक सूचना प्रकाशन गरेको थियो । दोस्राेपटकमा पनि भनेजति आवेदन नपरेपछि तेस्रोपटक दुई दिनको म्याद थप गरी आवेदन माग गरे तापनि माग गरेअनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
तीनपटक आवेदनको म्याद थप गर्दा जम्मा एक हजार २२० जनाको मात्रै आवेदन परेको छ । आवेदन माग गरेको संख्याभन्दा ११३ जना कमी भएपछि अपुग निर्वाचन प्रहरी छिमेकी जिल्ला सिन्धुलीबाट झिकाउने तयारी प्रहरी कार्यालयले गरेको छ । त्यस्तै सशस्त्र प्रहरीले माग गरेको निर्वाचन प्रहरीमा ९६ जनाले आवेदन दिएका छन् ।
निर्वाचन शान्तिसुरक्षा बिथोल्न खोज्नेलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका क्रममा गृहमन्त्री अर्यालले सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराएका छन्।
निर्वाचनमा शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकार कटिबद्ध रहेको अर्यालले प्रस्ट पारे। मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई कार्य गरिरहेको र आपराधिक तथा निर्वाचनविरोधी गतिविधिउपर शून्य सहनशीलताको नीति अवलम्बन गरेको छलफलका क्रममा जानकारी दिए।
आचारसंहिता उल्लंघनमा २१ स्पष्टीकरण पत्र, पाँचको मात्रै जवाफ
निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा निर्वाचन आयोगले दल, उम्मेदवार, व्यक्ति र संस्था गरी २१ वटा स्पष्टीकरण पत्र काटेको छ। १० दिनमा २१ वटा स्पष्टीकरण पत्र काटिएकोमा पाँचवटा मात्रै जवाफ प्राप्त भएको आयोगले जनाएको छ।
‘...निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि २०८२/१०/१४ सम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँचवटा जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको जानकारी गराइन्छ,’ आयोगले भनेको छ।
साफ यू–१९ महिला च्याम्पियनसिपको तयारी पूरा
साफ यू–१९ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिकाअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
पोखरा रंगशालास्थित फुटबल स्टेडियममा आउँदो शनिबार अर्थात १७ माघदेखि २४ माघसम्म संचालन हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश गरी चार देशले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। सहभागी टोलीहरु बिहीबार साँझसम्म पोखरा आइसक्ने उनले बताए।
सहभागी टोलीको प्रशिक्षण लागि पोखरा लामाचौरस्थित गोस्ते खेलमैदानमा व्यवस्था गरिएको छ। च्याम्पियनसिप हेर्न दर्शकहरुका लागि साधारण पारापिटतर्फ दुई सय र भीआइपी पारापिटतर्फ पाँच सय रुपैयाँ टिकटदर तोकिएको उनले जानकारी दिए।
सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार, संगीता भण्डारीसहित २० विरुद्ध मुद्दा दायर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियारले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित २० विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सिटी स्क्यान मेसिन खरिदका क्रममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रा.डा. भण्डारीसहित कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र लेक्चरर डा. श्रीसिया पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ।
काठमाडौंमा लुटपाटको आतंक मच्चाउने १० जनाको समूह पक्राउ
काठमाडौंमा लुटपाटको आतंक मच्चाउने १२ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। सो समूहले कम्तीमा २७ जनाको लुटपाट गरेको काठमाडौं प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बिहीबार पत्रकार सम्मेलन गरी लुटपाट गर्ने गिरोहबारे सार्वजनिक गरेका हुन्। पक्राउ परेका धेरैजसो आपराधिक पृष्ठभूमिका छन्। उनीहरूमध्ये केहीलाई पक्राउ गर्न प्रहरीले गोलीसमेत चलाएको थियो ।