आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि माग गरिएको निर्वाचन प्रहरीमा तीनपटक म्याद थप गर्दा पनि आवेदन दिनेको संख्या अपुग भएको छ ।
निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले एक हजार ३३३ जना निर्वाचन प्रहरी माग गरेको थियो । प्रहरीले माग गरेअनुसार पहिलोपटक पर्याप्त मात्रामा आवेदन नपरेपछि दोस्राेपटक सूचना प्रकाशन गरेको थियो । दोस्राेपटकमा पनि भनेजति आवेदन नपरेपछि तेस्रोपटक दुई दिनको म्याद थप गरी आवेदन माग गरे तापनि माग गरेअनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
तीनपटक आवेदनको म्याद थप गर्दा जम्मा एक हजार २२० जनाको मात्रै आवेदन परेको छ । आवेदन माग गरेको संख्याभन्दा ११३ जना कमी भएपछि अपुग निर्वाचन प्रहरी छिमेकी जिल्ला सिन्धुलीबाट झिकाउने तयारी प्रहरी कार्यालयले गरेको छ । त्यस्तै सशस्त्र प्रहरीले माग गरेको निर्वाचन प्रहरीमा ९६ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीमा आवेदन दिएका गरी कुल एक हजार ३१६ जनालाई यही माग १८ गतेदेखि तालिम प्रदान गरिने जनाइएको छ।