पाहुना टोली थाइल्यान्ड क्विन्सले जारी छैटौँ संस्करणको टाइगर कपमा महिलातर्फ तेस्रो स्थान हात पारेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअर्न्तगत तेस्रो स्थानका लागि बिहीबार सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पाहुना टोलीले तेस्रो स्थान हात पारेको हो।
खेलको पहिलो सेट २३–२५ ले आफ्नो पक्षमा पारेको एपिएफ त्यसपछि २५–११ र २५–९ ले पछि परेको थियो। एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै खेलको चौथो सेट २३–२५ ले एपिएफले आफ्नो पक्षमा पारेको थियो। खेलको अन्तिम एवं निर्णायक पाँचौँ सेट थाइल्यान्डले १५–११ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थानसँगै दुई लाख ६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार हात पारेको छ।
यसअघि १० गते भएको लिग चरणको खेलमा एपीएफले थाइल्यान्डलाई ३–२ को सेटले पाखा लगाएको थियो। जितसँगै थाइल्यान्डले लिग चरणमा भएको हारको बदलासमेत लिएको छ। पाँचौँ संस्करणसम्म आइपुग्दा महिलातर्फ सर्वाधिक सफल टोली एपिएफले दोस्रो, तेस्रो र चौथो गरी तीन संस्करणको उपाधि हात पार्दै ह्याट्रिक गरेको थियो।
यसैगरी, पुरुषतर्फको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले पाहुना टोली माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पाखा लगायो। यो खेलसँगै दुबै टोलीले लिग चरणका आफ्नो पाँचौँ खेल पूरा गरेका छन्। पाँचमध्ये पुलिसले तीनमा जित र दुईमा हारको सामना गर्दा माल्दिभ्स भने खेलेका सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ। आजको खेलमा पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो। जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना भने कायम राखेको छ। शुक्रबार पर्वत र गण्डकीबिचको खेलपछि फाइनल पुग्नो टोलीको टुंगो लाग्नेछ।
पुरुषतर्फ दोस्रो खेलमा विभागीय डर्बीमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पाखा लगायो। खेलको पहिलो सेट १९–२५ ले आफ्नो पक्षमा पारेको आर्मी त्यसपछिका दुई सेटमा भने पछि परेको थियो। दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपिएफले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका दुई सेट चौथो १७–२५ र पाँचौँ १६–१८ ले आफ्नो पक्षमा पार्दै आर्मीले जित हात पारेको हो। लिग चरणका आफ्ना पाँच खेल सकिँदा आर्मी र एपिएफको समान सात अंक छ। समान अंक रहे पनि सेटका आधारमा आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने बाटो बनाउँदा एपिएफ भने प्रतियोगिताबाट बाहिरिएको छ।
पुरुषतर्फ पर्वत र गण्डकीबिच लिग चरणको अन्तिम खेल बाँकी रहेको छ। शुक्रबार हुने सोही खेलबाट फाइनल पुग्ने टोलीको छिनोफानो हुने छ। प्रतियोगिताअर्न्तगत शुक्रबार महिलातर्फ फाइनल खेलमा पुलिस क्लबले न्यू डायमन्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुरुषतर्फ गण्डकी र पर्वतले लिग चराणको अन्तिम खेलमा खेल्नेछन्।