चार सहरमा नेपथ्यको स्वदेश यात्रा

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

वैश्विक हिसाबले प्रेमिल अनि आसन्न चुनावले गर्दा राजनीतिक रंगमा घोलिन लागेको यो फेब्रुअरीलाई लोकरक ब्यान्ड नेपथ्यले भने संगीतको महिना पनि तुल्याउन थालेको छ । यो वर्ष दुईपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरणअन्तर्गत फेब्रुअरी ४ तारिख (माघ २१ गते) देखि चार सहरमा कन्सर्ट घोषणा गरेको छ ।

यात्राको सुरुवात २१ गते बुधबारको साँझ हेटौँडाबाट हुनेछ । सहरको मध्यभागमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा यो सिजनकै पहिलो नेपथ्य कन्सर्ट आयोजित हुनेछ । अघिल्लोपटक तीन वर्षअघि मानव सेवामा समर्पित भई देश दौडाहा गर्दा पनि ब्यान्डले यो विद्यालय प्रांगणलाई आफ्ना लोकरक सुनाउनका निम्ति रोजेको थियो । यसपाला भने विद्यालयकै भैरव रोडसँग जोडिनेतर्फको मैदानमा नेपथ्य कन्सर्ट आयोजना हुँदै छ । द्वन्द्वकालका वेला शान्तिको आवाज लिएर पनि यो ब्यान्ड यस सहरमा पुगेको इतिहास छ ।

हेटौँडापछिको प्रस्तुति भने बुटवलमा आयोजना हुनेछ । ‘रोज डे’ अर्थात् गुलाफ आदान–प्रदानको साँझ माघ २४ गते रामनगरस्थित ‘बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर’मा ब्यान्डको प्रस्तुति रहनेछ । शनिबारसमेत परेकाले बुटवल परपरका फराकिलो भेगलाई नेपथ्यले प्रेमिल मिलनको केन्द्र पनि तुल्याउने स्थानीय आयोजक बताउँछन् ।

त्यसपछिको प्रस्तुति भने नारायणघाटमा रहनेछ । त्यहाँस्थित ‘क्याम्पाचौर’मा माघ २७ गते बेलुकी नेपथ्यका दर्शकहरूले संगीतमय साँझ अनुभव गर्नेछन् । यो फराकिलो मैदानमै तीन वर्षअघि पनि नेपथ्य प्रस्तुत भइसकेको छ । यसरी हेटौँडा, बुटवल र नारायणघाट गरेर तीनवटै सहर तीन वर्षको अन्तरालपछि पुनः नेपथ्यलाई स्वागत गर्ने तयारीमा जुटेको हो ।

ब्यान्डको चौथो प्रस्तुति भने बेग्लै छ । विश्वभरिका प्रेमी–प्रेमिकाहरूले फेब्रुअरीको १४ तारिख बेलुकी ‘भ्यालेन्टाइन्स डे’को रमाइलोमा आफूलाई डुबाइरहेको वेला नेपथ्य भने एउटा सुन्दर पहाडी नगरीमा गुञ्जिरहेको हुनेछ । पहिलोपटक नेपथ्य पुग्न लागेको त्यो नगरी हो बन्दीपुर । तलतिर पर्ने तनहुँ जिल्लाका अन्य बजारहरूमा आफूलाई बारम्बार प्रस्तुत गरिसकेको ब्यान्डले यसपटक भने श्रोताहरूलाई मास्तिर रहेको टुँडिखेलमा आकर्षित गर्ने योजना लिएको छ । अवसरको खोजीमा बसाइँसराइ गरेर नेवार व्यापारीहरूले कुनै वेला बसालेको यो व्यापारिक नाका राजमार्गको निर्माणसँगै ओझेलमा पर्दै गएको थियो । पछिल्लो समय भने जागरुक बन्दीपुरेहरूले यो सहरलाई पुरानो झल्को दिने सुन्दर पर्यटकीय केन्द्रका रूपमा विकास गरिसकेका छन् ।

‘हामीले बारम्बार आफूलाई प्रस्तुत गर्दै आएको तीनवटै सहरबाट सदैव आत्मीय माया पाउँदै आएका छौँ र त्यताका दर्शकहरूसँग फेरि पनि भेट्न आतुर छु,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘भिडभाडभन्दा परको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा धेरैपटक पर्यटक भएर पुगेको मलाई यसपाला गायकको रूपमा पाइला राख्ने नयाँ अनुभवले हौस्याइरहेको छ ।’ गुरुङका अनुसार यो सुन्दर नगरीमा बसेकै वेला उनले लेखेका शब्दहरूलाई पनि ब्यान्डले गाउँदै आएको छ ।

कन्सर्टहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न हेटौँडामा ‘रमाइलो इभेन्ट्स्’, बुटवलमा ‘ब्याकअप इभेन्ट म्यानेजमेन्ट’, नारायणघाटमा ‘नेपाल डायरिज’ र बन्दीपुरमा ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ले स्थानीय आयोजकको दायित्व सम्हालेका छन् । घोषणालगत्तै टिकट काट्ने दर्शकहरूका निम्ति राखिएको सहुलियत दरका ‘अर्लि बर्ड टिकेट’ हरूमध्ये बुटवल, नारायणघाट र बन्दीपुरको कोटा समाप्त भइसकेको जानकारी स्थानीय आयोजकहरूले दिएका छन् । यी सबै स्थानहरूमा विद्यार्थीलगायत विशेष समूहका निम्ति पनि सहुलियत दरका बेग्लै टिकट राखिएका छन् । सीमित मात्रामा राखिएका त्यस्ता टिकटहरू धमाधम सकिन लागेको जानकारी पनि उनीहरूले दिइरहेका छन् ।

‘विश्वका ठुला सहरदेखि नेपालको सानो पहाडी बस्तीसम्म हेर्न आउने श्रोताहरूले नेपथ्यको स्वादमा एकरूपता पाउन् भनेर हामीले विशेष ध्यान दिँदै आएका छौँ,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि यो गुणस्तरलाई कायम राख्न मानवीयदेखि लिएर प्रविधिसम्मका उच्चतम सेवा प्रयोगमा ल्याइनेछ ।’ यसरी पहिलो चरणमा चार सहरको प्रस्तुतिपछि नेपथ्यको यस वर्ष तोकिएको स्वदेश यात्रा दोस्राे खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ ।

यी सबै कन्सर्टमा गायक अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । दर्शक सुविधालाई ध्यानमा राख्दै सबैजसो कन्सर्टहरूको अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।
 

See More On

सुझावित समाचार