देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– ३, तिलिंगेटारबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १५० मिलिग्रामसहित जोरपाटी बस्ने धनकुटा घर भएका २१ वर्षीय सुदीप राई पक्राउ परेका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिका– ६, गछियाबाट ३० वर्षीय अनिष मगरसहित चारजनालाई नियन्त्रित लागुऔषध ट्रामाडोल ११४ ट्याब्लेट र स्पास्मो ११४ ट्याब्लेटसहित पक्राउ गरिएको छ। प्रहरी चौकी गछियाबाट खटिएको टोलीले अनिष मगरको घर तलासी गर्दा लागुऔषध फेला पारेको हो। त्यस्तै, विराटनगर महानगरपालिका– १५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ६४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका– १५ बस्ने २७ वर्षीय सुजन धमला पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका– १३, मोहनपुरबाट २० वर्षीय अजय राना, बर्दगोरिया गाउँपालिका– २, कुम्भियाबाट २३ वर्षीय शिशिर बम र धनगढी उपमहानगरपालिका– २, त्रिनगर ब्यारलबाट २५ वर्षीय लोकेन्द्र बोगटीलाई ब्राउनसुगरजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट क्रमशः ७५० मिलिग्राम, ७१० मिलिग्राम र एक ग्राम चार सय मिलिग्राम लागुऔषध बरामद गरिएको छ।
सुनसरीको इनरुवा नगरपालिका– ९, पोखरीचोकबाट २२ वर्षीय सदानन्द शर्मा ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १३० मिलिग्रामसहित पक्राउ परेका छन्।
दाङमा घोराही उपमहानगरपालिका– १४, ढोडेनी टोलबाट २२ वर्षीय दीपेश चौधरी र तुलसीपुर उपमहानगरपालिका– ५, बसपार्कस्थित होटेलबाट २३ वर्षीय सुदन पुन ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ३, बिचपट्टी चोकबाट ३३ वर्षीय विवेक कार्की र ३६ वर्षीय राजकुमार भट्टलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्राम १२० मिलिग्रामसहित पक्राउ गरिएको छ। उनीहरू सवार डिएल ४ सिएएफ ७४९७ नम्बरको कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी मकवानपुरको मनहरी गाउँपालिका– ७, मनहरी बजारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १७५ ट्याब्लेटसहित २४ वर्षीय सुजन थोकर पक्राउ परेका छन्। पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।