बालबालिकाको तस्करी रोक्न के गर्ने ?

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण
  • तस्करबाट बालबालिकालाई सुरक्षित राख्न अभिभावकले मौनता तोड्नुपर्छ, किनकि मौनता नै तस्करको सबैभन्दा ठुलो सहयोगी हो

जनवरी मानव बेचबिखनविरुद्ध रोकथाम अभियानको महिना हो र जेफ्री एपस्टाइन फेरि एकपटक समाचारको शीर्षकमा हाबी हुँदा समाजले एउटा महत्वपूर्ण सत्य गुमाउने जोखिम छ । एपस्टाइन कुनै विसंगति थिएनन् । उनका कार्य यस देशभरका समुदायमा फैलिरहेको बृहत् संकटका अंश थिए । अमेरिकाका प्रत्येक अभिभावकले मानव बेचबिखनबारे चिन्ता गर्नुपर्छ ।

बाल्यकालको यौन दुर्व्यवहार र अनलाइन शोषणबाट बचेको व्यक्तिका रूपमा तथा दुर्व्यवहारबाट बचेकाहरूको समर्थनमा दशकौँ समय बिताएको मानिसका रूपमा मलाई यो थाहा छ– दुर्व्यवहार, शोषण र मानव बेचबिखन मौनता र कलंकमा फस्टाउँछ । जब वयस्कहरूले ‘यहाँ हुन सक्दैन’ भनेर सोच्छन्, जब चेतावनी संकेतलाई बेवास्ता गरिन्छ र जब प्रणालीहरूले हानि भइसकेपछि मात्र प्रतिक्रिया दिन्छन्, तब दुर्व्यवहारका घटना बढ्छन् ।

मानव बेचबिखन त्यस्तो विषय होइन, जुन ‘अन्य कतै’ हुन्छ । यो एपस्टाइनको टापु वा अपमानित र्याप स्टारले आयोजना गर्ने कुख्यात पार्टीमा सीमित छैन । संयुक्त राज्य अमेरिकाका हरेक जिप कोडमा बेचबिखन हुन्छ– घर, विद्यालय, मल र बढ्दो रूपमा फोन र ल्यापटपमा । यी घटना स्पष्ट दृष्टिमा लुकेका हुन्छन् ।

हामीले विगत एक वर्षका समाचार हेर्यौँ भने वयस्क र उनीहरूलाई सुरक्षा दिने प्रणाली असफल भएका कारण निर्दोष बालबालिका ‘हेडलाइन’मा रहेको देख्न सकिन्छ । प्राय: पीडित बालबालिका र किशोरकिशोरीले एप, गेम र सामाजिक सञ्जालमार्फत अनलाइनमा आफ्ना तस्करलाई भेट्छन् । तर, तिनका अभिभावकलाई बालबालिकाको जीवनमा वास्तवमा के भइरहेको छ भन्ने कुनै जानकारी हुँदैन । डिजिटल संसारमा पहुँचले विद्यमान समस्यालाई बढाएको छ, त्यसैले अमेरिकाका प्रत्येक अभिभावकले यो सन्देश सुन्नु महत्वपूर्ण छ, चरम वा सनसनीपूर्ण घटनामा मात्र तस्करलाई खोजी गरिरह्यौँ भने हामी हाम्रो अगाडि के भइरहेको छ भन्ने यथार्थबाट टाढा रहन्छौँ । 

२०२३ मा मात्र ‘नेसनल मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन सेन्टरले आफ्नो साइबरटिपलाइनमार्फत अनलाइन बाल यौन शोषणको शंकास्पद तीन करोड ६० लाखभन्दा बढी रिपोर्ट प्राप्त गर्यो । त्यो संख्याले हामीले पहिले कहिल्यै नदेखेको स्तरमा पहुँच र अवसरलाई प्रतिनिधित्व गर्छ । हामी आफैँलाई भन्छौँ, ‘मेरो बच्चा होइन ।’ तर, एकपटक आफ्नो बाल्यकाल र किशोरावस्थालाई फर्केर सोच्नुहोस्– निर्दोषता, जिज्ञासा र सीमा नाघ्ने प्राकृतिक प्रवृत्ति । बच्चाहरू कसरी अकल्पनीय अपराधमा फसिरहेका छन् ? अपराधीलाई अभूतपूर्व पहुँच दिने अनलाइन संसारमा स्वाभाविक जिज्ञासाबाटै शोषण सुरु हुन्छ ।

राम्रोसँग प्रचारित मुद्दाले पीडितमा जागरुकता जगाउने र न्याय सुरक्षित गर्ने अवसर प्रदान गर्छ, तर हामी बेचबिखन रोक्न गम्भीर छौँ भने यो जवाफदेहितालाई सामुदायिक शिक्षासँग पनि जोड्नुपर्छ । धेरैजसो पीडितलाई अपहरण गरिएको हुँदैन । तिनको हेरचाह गर्ने र प्राय: उनीहरूले विश्वास गर्ने व्यक्तिद्वारा बिस्तारै शोषण गरिन्छ र यो प्राय: अनलाइनमा हुन्छ । यसको मतलब हाम्रो सबैभन्दा प्रभावकारी माध्यम शिक्षा, जागरुकता र प्रारम्भिक हस्तक्षेप नै हुन् । जब कुनै ठुला अपराधका घटना देखिन्छन्, अनि मात्र यसलाई गम्भीरतापूर्वक लिइन्छ, जुन हरेक अभिभावकको कमजोरी हो ।

आफ्ना बच्चालाई सुरक्षित राख्न सक्ने तीन तरिका यहाँ दिइएका छन्, पहिलो– सानै उमेरदेखि सुरक्षाबारे बच्चाहरूसँग खुलेर कुरा गर्नुहोस् । सीमा, अनलाइन व्यवहार र शंकास्पद वयस्कले बालबालिकामाथि गरेका व्यवहारबारे आफ्ना सन्तानसँग राम्रो व्यवहार गर्नुहोस्, ताकि बालबालिकालाई आत्मविश्वास दिन सकियोस् ।

दोस्रो– तपाईंको बच्चाको पहुँच केमा छ भनेर जान्नुहोस् । घरमा भएका सबै डिजिटल उपकरणको हिसाब राख्नुहोस् र खेल, एप र सामाजिक सञ्जालमा तपाईंको बच्चाको अनलाइन व्यवहारको निगरानी गर्नुहोस् । गत वर्ष यो रिपोर्ट गरिएको थियो कि युटाहकी एक किशोरीले दुर्व्यवहारकारीसँग भेट्नुअघि इन्टरनेटमा जोडिन पुरानो र विवरणमा नराखिएको फोन प्रयोग गरेकी थिइन् । यी घटना आफूलाई नपरेसम्म असम्भव लाग्न सक्छ, तर हाम्रा बच्चालाई सुरक्षित राख्नु हाम्रै दायित्व हो ।

तेस्रो– खतराको चेतावनीबारे राम्रोसँग जान्नुहोस् र अवलोकन गर्नुहोस् । बालबालिकाको व्यवहारमा अचानक परिवर्तन, उपकरण (मोबाइल, ट्यापलगायत)लाई गोपनीय राख्न खोज्ने बालबालिकाको आदत, कसैबाट पाउने अस्पष्ट उपहार वा फिर्ता सबै चेतावनीका संकेत हुन सक्छन् । यसबारे पूर्वसावधानी अपनाएमा बालबालिकामा हुन सक्ने सम्भावित शोषणलाई चाँडै रोक्न मद्दत पुग्छ । मानव बेचबिखन रोकथाम महिना पुन: प्रयोग गरिएको आक्रोश वा प्रतीकात्मक इसाराबारे हुनुहुँदैन । 

अहिले बालबालिकाको तस्करी भइरहेको छ– धनी र शक्तिशालीका लागि गोप्य आश्रयमा मात्र होइन, हाम्रा समुदायमा पनि यस्ता गतिविधि भइरहेका छन् । हामी यो शोषण रोक्न चाहन्छौँ भने हामीले यसलाई दुर्लभ रूपमा व्यवहार गर्न बन्द गर्नुपर्छ । चरम घटनाले हानि गर्नुअघि बालबालिकालाई सुरक्षित राख्ने कदम तत्काल चाल्नुपर्छ । मौनता तस्करको सबैभन्दा ठुलो सहयोगी हो । कर्तव्य हाम्रो हो । तसर्थ, आजैदेखि जागरुक बनौँ ।

(बुक अमेरिकी बालबालिकासम्बन्धी अधिवक्ता तथा पूर्वशिक्षिका हुन्)
न्युजविकबाट

सुझावित समाचार