कपिलवस्तुमा लागुऔषध सेवन गरी सवारी चलाउने सात चालक कारबाहीमा

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले कपिलवस्तुमा लागुऔषध सेवनविरुद्ध विशेष चेकिङ अभियान सञ्चालन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पिपराको संयुक्त आयोजनामा गरिएको चेकिङ अभियानमा लागुऔषध सेवन गरी सवारी चलाइरहेका सात चालक पक्राउ परेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दिउँसो १२ बजेदेखि २ बजेसम्म सञ्चालन गरिएको अभियानमा ५० वटा सवारीसाधनका चालकको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। पिपरा अस्पतालको प्राविधिक सहयोगमा गरिएको परीक्षणका क्रममा सात चालकले दिउँसै मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका सबै चालक विङ्गर चालक हुन्। पक्राउ पर्नेमा बा ४ प ६६८२ नम्बरको सवारी चालक अर्घाखाँची नगरपालिका–२ का समीर रायमाझी, लु १ ज ३२९० का चालक बाणगंगा नगरपालिका–१ का बलबहादुर ठकुरी, लु १ ज २९०७ का चालक बाणगंगा–२ का विकास परियार, लु १ ज २९७२ का चालक बाणगंगा–९ का प्रेम थारु रहेका छन्।

यस्तै लु १ ज ३००७ का चालक बाणगंगा–२ का रोशन थारु, लु १ ज २९६४ का चालक सैनामैना नगरपालिका–६ का रनित परियार तथा लु १ ज ३६६७ का चालक बाणगंगा–७ का विमल पौडेल पनि पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार पक्राउ परेका सातैजनालाई लागुऔषध सेवन मुद्दामा पाँच दिनको म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको छ। उनले आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने बताए।

सुझावित समाचार