विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्ने प्राथमिक उद्देश्यले विश्वव्यापी रूपमा भएको पेरिस जलवायु सम्झौताबाट डोनाल्ड ट्रम्पको सरकारले संयुक्त राज्य अमेरिकालाई दोस्रोपटक आधिकारिक रूपमा बाहिर निकालेका छन् ।
यो कदमपछि अमेरिका उक्त सम्झौताबाट बाहिरिने एक मात्र देश बनेको छ । अमेरिका अब सम्झौतामा हस्ताक्षर नै नगर्ने इरान, लिबिया र यमनको लहरमा उभिन पुगेको छ । ट्रम्प प्रशासनले घरेलु जलवायु नीतिमा व्यापक आक्रमण गरिरहेकै वेला अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको हो ।
जलवायु संकटविरुद्ध कदम उठाउने सन्दर्भमा अमेरिका पछि हटे पनि विश्वव्यापी उत्सर्जन कटौती प्रयास भने रोकिनेछैन । पछिल्लो समय न्यून कार्बन उत्सर्जन गर्ने प्रविधिमाथिको लगानी जीवाश्म इन्धनमा भन्दा धेरै भएको छ । अहिले विश्वका धेरै स्थानमा नविकरणीय ऊर्जा बिजुली उत्पादनको सबैभन्दा सस्तो स्रोत बनिसकेको छ । अमेरिका पछि हट्दा हरित संक्रमणको नेतृत्व चीनले गर्न थालेको छ ।
विश्वको सबैभन्दा ठुलो कोइला उपभोक्ता कायम नै रहे पनि चीनले नविकरणीय ऊर्जामा विशाल लगानी गरिरहेको छ । यसैको परिणामस्वरूप अहिले विश्वमा उत्पादन हुने सौर्य पाताको ८० प्रतिशतभन्दा बढी, विन्ड टर्बाइनको ७० प्रतिशत उत्पादन चीन एक्लैले गर्न थालेको छ । चीनले अहिले स्वच्छ ऊर्जा आपूर्ति शृंखलामा बलियो नियन्त्रण हासिल गरेको छ ।