भुवन नगरकोटी दुई स्ट्रोकले अगाडि

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन शीर्ष स्थान हात पारेका छन् । बर्दीवासस्थित पार–७२ मिथिला नगरी आर्मी गल्फ क्लबमा मंगलबार पहिलो चरणमा भुवनले ५ अन्डर ६७ को उत्कृष्ट कार्ड बनाउँदै दुई स्ट्रोकको अग्रता बनाएका छन् । 

दोस्रो स्थानमा रहेका भुवनकुमार रोक्काले ३ अन्डर ६९ स्कोर गरेका छन् । सुमन राई र धनबहादुर थापा १ अन्डर ७१ स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन् । टंकबहादुर कार्कीले इभन–पार ७२ खेल्दै पाँचौँ स्थानमा पहिलो दिनको खेल सकाए । एमेच्योर प्रकृत तामाङ तथा प्रोफेसनल रमेश अधिकारी, नीरज तामाङ र दिनेश प्रजापति संयुक्त रूपमा छैटौँ स्थानमा छन् । शीर्ष स्थानमा रहेका नेपालका पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवनले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर ३४ खेल्दै समग्रमा ५ अन्डर ६७ को स्कोर निकाले । उनले दोस्रो, चौथो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले । 

रोक्कालाई लगातार तीन वर्डी
दोस्रो स्थानको रोक्काले फ्रन्ट नाइन इभन पार ३६ र ब्याक नाइन ३ अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र सातौँ होलमा बर्डी निकाले त्यसपछि उनले दोस्रो, पाँचौँ र नवौँ होलमा बोगी खेपे । ब्याक नाइनमा उनले १३औँ, १४औँ र १५औँ होलमा लगातार तीन बर्डी प्रहार गरेका थिए । सुमन राईले फ्रन्ट नाइन २ ओभर ३८ खेले पनि ब्याक नाइनमा ३ अन्डर ३३ को उत्कृष्ट पुनरागमन गरे । 

See More On

सुझावित समाचार