इजरायली दूतावासले मनायो होलोकास्ट स्मरण दिवस

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

नेपालस्थित इजरायली दूतावासले संयुक्त राष्ट्रसंघद्वारा घोषित होलोकास्टका पीडितहरूको स्मरणार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार स्मरण कार्यक्रम आयोजना गरेको छ।

यस वर्षको विश्वव्यापी नाराअन्तर्गत ‘गरिमा र मानव अधिकारका लागि होलोकास्ट स्मरण’ विषयमा होलोकास्टका क्रममा ६० लाख यहुदीहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

सन् १९४१ देखि १९४५ सम्म युरोपमा नाजी शासन र उसका सहयोगीहरूद्वारा ६० लाख यहुदीहरू (जसमध्ये १५ लाख शिशु तथा बालबालिका थिए) को हत्या गरिएको थियो।

मंगलबार आयोजित कार्यक्रममा उच्चपदस्थ सरकारी अधिकारीहरू तथा कूटनीतिक समुदायका प्रतिनिधिहरू सहभागी थिए। नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले भने, ‘जातीय भेदभाव र कुनै समुदायलाई समाप्त पार्ने चाहना फेरि कहिल्यै दोहोरिनुहुँदैन। होलोकास्ट मानव इतिहासको एक कालो दाग हो।’

होलोकास्टका पीडितहरूप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले भने, ‘होलोकास्टले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा गहिरो प्रभाव पारेको छ, जसको परिणामस्वरूप सन् १९४८ मा संयुक्त राष्ट्रसंघले सार्वभौमिक मानव अधिकार घोषणा पत्र तथा नरसंहार अपराधको रोकथाम र सजायसम्बन्धी महासन्धि अपनायो, जसको नेपाल पनि पक्ष राष्ट्र हो।’

नेपालले मानिसहरूले गरिमा र सम्मानसाथ जीवन बिताउन पाउने गरी सहिष्णुता र सामाजिक न्याययुक्त संसार चाहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो फोल्ज तथा अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा होलोकास्टबाट बाँच्न सफल सोफिया गेलरले आफ्ना पीडादायी अनुभवहरू स्मरण गरेकी थिइन्। इजरायली दूतावासले होलोकास्ट शिक्षाप्रति तथा शान्ति, सहिष्णुता र पारस्परिक सम्मानका मूल्यहरूको प्रवर्द्धनप्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ।

सुझावित समाचार