सुदूरपश्चिमको राजधानी रहेको कैलाली ५ मा बढ्यो चुनावी सरगर्मी

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी रहेको कैलाली ५ मा मनोनयन दर्तापछि उम्मेदवारहरू मत माग्न जनताको घरदैलो पुग्न थालेका छन् । उम्मेदवार र राजनीतिक दलका चुनावकेन्द्रित गतिविधिले यहाँ चुनावी सरगर्मी बढेको छ ।

यो क्षेत्र प्रदेशकै प्रमुख सहर र राजधानी भएकाले प्रदेशभरि नै चासो र चर्चाको केन्द्रमा छ । यहाँको प्रतिस्पर्धालाई दलहरूले पनि प्रतिष्ठाको लडाइँका रूपमा हेरेका छन् । एक लाख १० हजार ६ सय मतदाता रहेको कैलाली ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ समेटिएका छन् । 

प्रमुख दलहरूले यो क्षेत्रमा नयाँ अनुहारलाई अघि सारेका छन् । कांग्रेसले पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’लाई उम्मेदवार बनाएको छ । कांग्रेस कैलालीका पूर्वसभापति शाह लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि अवसर नपाएका नेता हुन् । एमालेबाट प्रभावशाली युवा नेता यज्ञराज ढुंगाना चुनावी प्रतिस्पर्धामा छन् । विद्यार्थी राजनीतिबाट उदाएका ढुंगाना एमाले कैलालीका अध्यक्षसमेत हुन् । 

पछिल्ला तीन संसदीय चुनावमा डोटीबाट ‘ह्याट्रिक’ गरेका पूर्वमन्त्री प्रेमबहादुर आले यसपटक कैलाली झरेर ५ नम्बर क्षेत्रमा प्रतिष्पर्धा गर्दैछन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्राज्ञिक व्यक्तित्व आनन्दबहादुर चन्द चुनावी मैदानमा छन् । पाटन बहुमखी क्याम्पस ललितपुरका सहायक प्राध्यापक चन्द गत पुससम्म प्राध्यापन पेसामै थिए । देश परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्दै उनी राजनीतिक मैदानमा होमिएका हुन् । कैलाली ५ मा विभिन्न दल र स्वतन्त्र गरी १५ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । देशभरि नै आफ्नो दलको पक्षमा लहर आएकोले सहजै निर्वाचन चित्ने अपेक्षा रास्वपाको छ । 

०४८ यताका संसदीय चुनावमा कांग्रेसले पाँच, एमालेले दुई र माओवादीले एकपटक यो क्षेत्रबाट चुनाव जितेका छन् । ०६४ को संविधानसभा सदस्यको पहिलो निर्वाचनमा माओवादीका लीला भण्डारी तथा ०७० को संविधानसभाको दोस्रो चुनावमा कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा साविक कैलाली ६ बाट निर्वाचित भएका थिए ।

गृहजिल्ला डडेल्धुराबाट समेत निर्वाचित देउवाले यो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसकै पुस्करनाथ ओझा निर्वाचित भए । ०७४ को निर्वाचनमा भने तत्कालीन माओवादी र एमालेसहित वाम गठबन्धनको बलमा एमालेका नारदमुनि रानाले कांग्रेस नेतृ आरजु राणालाई हराए । गत चुनावमा तिनै राना कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भए । ०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरको प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष कांग्रेसले जितेको थियो । गत चुनावमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भए । बहुमत वडाध्यक्ष कांग्रेसले जितेको छ ।

पुराना दललाई नयाँको चुनौती
यसपालिको चुनावमा कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । कांग्रेसलाई आफ्नो बिरासत जोगाउने चुनौती छ । एमाले र नेपाली कम्युनिस्ट पार्टी बिरासत फर्काउने कसरतमा छन् । रास्वपा नयाँ जित निकाल्ने रणनीतिमा छ ।

कांग्रेसका उम्मेदवार शाह यहाँ कांग्रेसको बलियो संगठन रहेकाले आफू निर्वाचित हुने दाबी गर्छन् । ‘हाम्रो संगठन बलियो छ । यहाँ हाम्रा जति पनि जनप्रतिनिधि हुनुहुन्छ, दैनिक जनतामाझ गइरहनुहुन्छ, यो नै मेरो जितको आधार हो,’ उनले भने । आफू के गर्ने भनेर घोषणापत्रसहित आउने उनले बताए । 

एमालेका ढुंगानाले आफू स्वास्थ्य, शिक्षा क्षेत्रका समस्या, ग्रामीण भेगका जनताका समस्या सम्बोधन हुने गरी घोषणापत्र बनाएर जाने तयारीमा रहेको बताए । उनले भने, ‘विद्यार्थी राजनीतिदेखि यहाँको भूगोल चिनेको छु, यहाँको समस्या बुझेको छु र ती समस्या समाधान गर्ने सामथ्र्य राख्छु । म सामाजिक काममा जोडिएको युवा भएकाले मेरो उम्मेदवारीलाई लिएर मतदातामा उत्साह पाएको छु ।’

आले यो क्षेत्रको विकासका लागि आफू डोटीबाट चुनाव लड्न कैलाली आएको बताउँछन् । विगतमा आफू मन्त्री भएकै वेला धनगढी विमानस्थलको स्तरोन्नति, धनगढी–खुटिया–दिपायल सडकलगायत योजना अगाडि बढाएको दाबी गर्दै उनले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निर्माण, विमानस्थल स्तरोन्नतिलगायत योजनालाई चुनावी मुद्दा बनाएका छन् ।

रास्वपा उम्मेदवार चन्दले भ्रष्टाचार अन्त्य, सुशासन, देशको प्रणालीमा परिवर्तन र विकासलाई उनले आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका छन् । नागरिकलाई झुटा आश्वासन दिनेभन्दा पनि रास्वपाको सरकार बनेपछि मन्त्रिपरिषद्ले निर्णयसमेत समेटेर पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको बताए ।

देशभरि नै अहिले परिवर्तनको आवाज उठेको छ र परिवर्तनको नेतृत्व रास्वपाले गरेकाले आफू यो क्षेत्रबाट निर्वाचित हुनेमा उनी ढुक्क देखिन्छन् । ‘प्राध्यापनमा लागेर विद्यार्थी राम्रो बनाउन सकिन्छ, क्याम्पस राम्रो बनाउन सकिन्छ, तर देशकै अवस्था सुधार्ने प्रमुख बाटो राजनीति हो,’ त्रिभुवन विश्वविद्यालयबाट हालै पिएचडी सकेका चन्दले भने, ‘राजनीतिका माध्यमबाट केही राम्रो काम गरौँ, देश परिवर्तन गरौँ भन्ने भावनाले राजनीतिमा आएको हुँ ।’ 

प्रणालीमा सुधार गरेर राम्रो संस्कार बसाउन सके देश विकास र सुशासन हुने उनले बताए । ‘देशभरि नै अहिले परिवर्तनको आवाज उठेको छ र परिवर्तनको नेतृत्व रास्वपाले गर्छ,’ उनले भने, ‘रास्वपामा भिजन भएका मान्छे आइरहेका छन् । हामी देशको ‘थिंकट्यांक’ बन्न सक्छौँ भन्ने लागेको छ ।’

सुझावित समाचार