बिमा प्राधिकरणको अध्यक्षमा पहिलोपटक सचिव

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई दिएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

सरकारले पहिलो सचिवलाई प्राधिकरणको अध्यक्ष बनाएको हो । आफ्नो बर्खास्तीविरुद्ध पूर्वअध्यक्ष शरद ओझाले दायर गरेको रिटमा सर्वाेच्चले अल्पकालीन अन्तरिम आदेश दिएसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया रोकिएको छ । त्यसपछि मन्त्रिपरिषद्ले कर्मचारीलाई अध्यक्षको जिम्मेवारी दिँदै आएको छ ।

यसअघि अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारीबाट शर्मा स्वइच्छाले बाहिरिएपछि सरकारले सचिव पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । प्राधिकरणको अध्यक्ष बन्न सहसचिवको योग्यता नपुग्ने विषयमा विवाद भइरहेको छ । त्यसपछि सरकारले यसपटक सचिवलाई अध्यक्षको जिम्मेवारी दिएको छ । 

१२ फागुनमा प्राधिकरण अध्यक्षमा नियुक्ति भएका ओझा २ भदौमा बर्खास्त भएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । यता ओझाले आफ्नो बर्खास्तविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । साथै, नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया यथावत् राख्न भनेको छ । तर, अझै अन्तरिम आदेशका लागि सुनुवाइ भएको छैन ।

सुझावित समाचार