२५ दिनमा खोलियो त्रिविको ताला : प्रहरीको रोहबरमा त्रिवि पदाधिकारीले तोडे

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण
२५ दिनमा खोलियो त्रिविको ताला : प्रहरीको रोहबरमा त्रिवि पदाधिकारीले तोडे

फाइल तस्बिर

अखिल क्रान्तिकारीसहित चारवटा विभागका विद्यार्थीले शुल्क घटाउन माग गर्दै त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा लगाएको ताला २५ दिनमा तोडिएको छ । ताला खोल्न गरेको आग्रहलाई विद्यार्थीले इन्कार गरेपछि सोमबार प्रहरीको रोहबरमा त्रिवि पदाधिकारीले ताला तोडेका हुन् ।

अखिल क्रान्तिकारीसहित अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, सामाजिक कार्य, लैंगिक अध्ययन र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागका विद्यार्थीले १८ पुसमा उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार रिजालको कार्यकक्षमा ताला लगाएका थिए । यी विभागको शुल्क महँगो भएको भन्दै विद्यार्थीले घटाउन माग गर्दै आएका थिए । तर, त्रिविले सुनुवाइ नगरेपछि उनीहरू तालाबन्दीमा उत्रिएका थिए । कार्यकक्षमा ताला लागेपछि त्रिवि पदाधिकारी कार्यालय आउनै छाडेका थिए । त्रिविले आइतबार सूचना जारी गर्दै सोमबार बिहानसम्म ताला खोल्न विद्यार्थी संगठनलाई आग्रह गरेको थियो । तर, विद्यार्थीले मानेका थिएनन् । सोमबार ताला तोडेर तीनै पदाधिकारी कार्यालयमा हाजिर भएका छन् ।

उपकुलपति अर्यालले शुल्क घटाउने तयारी भएको बताए । ‘हामीले विद्यार्थीका समस्या समाधान नगर्ने होइन, समाधानको लागि बलियो समिति बनाएका छौँ, समितिले विद्यार्थीलाई अन्याय गर्ने गरी काम गर्दैन, त्रिवि विद्यार्थीप्रति कठोर छैन, हामीले शुल्क घटाउँछौँ भनेका छौँ,’ उनले भने, ‘तर, हरेक विषयलाई राजनीतीकरण गर्न त भएन नि ।’ हचुवामा शुल्क घटाउनुभन्दा समितिको अध्ययन प्रतिवेदनका आधारमा शुल्क हेरेफेरको तयारी गरेको उपकुलपति अर्याल बताउँछन् ।

चारवटा विभागको चार सेमेस्टरको शुल्क एक लाख ८० हजारदेखि तीन लाखसम्म तिर्नुपरेको विद्यार्थीको गुनासो छ । शुल्क घटाउन यसअघि नै विद्यार्थीले आन्दोलन गरेका थिए । २१ भदौमा त्रिविले शुल्क घटाउने प्रतिबद्धतासहित विद्यार्थीसँग सम्झौता गरेको थियो । २१ भदौको सम्झौतामा चारै विभागको शुल्क घटाएर एक लाख १० हजारसम्म कायम गर्ने, त्रिवि सभाबाटै निर्णय गरेर त्रिविका सबै क्याम्पसहरूको शुल्क निर्धारण गर्न अध्ययन समिति बनाउने उल्लेख थियो । 

विद्यार्थीसँगको सम्झौताअनुसार १० मंसिरमा बसेको त्रिवि सिनेट बैठकले व्यवस्थापन संकायका सहायक डिन प्राडा दिलीप पराजुलीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा अंग्रेजी विभाग प्रमुख प्राडा ध्रुव कार्की र अर्थशास्त्र विभागका प्राडा सूर्य थापा सदस्य छन् । समितिलाई त्रिविअन्तर्गतका क्याम्पसमा पढाइ हुने सबै संकाय, विभाग तथा विषयको शुल्क अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश छ । 

विद्यार्थीले भने समितिले काम गर्न र प्रतिवेदन बनाउन समय लाग्ने भएकाले त्यसअघि नै शुल्क घटाउनुपर्ने माग गरेका छन् । २१ भदौमा शुल्क घटाउने गरी भएको सम्झौता लामो समयसम्म पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले १८ पुसमा तालाबन्दी गरेका थिए । सोमबार त्रिवि पदाधिकारीले प्रहरीको सुरक्षामा ताला खोलेको भन्दै विद्यार्थीले लगत्तै उपकुलपति कार्यालयपरिसरमा धर्नासमेत दिएका छन् । 
 

See More On

सुझावित समाचार