प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत अनुगमन गर्ने भएकी छिन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याकको निर्माण प्रगति, गुणस्तर तथा समग्र अवस्थाको मूल्यांकन गर्न प्रधानमन्त्री स्वयं अनुगमनमा निस्किन लागेकी हुन्।
प्रधानमन्त्री कार्की मंगलबार सेनाको हेलिकोप्टरमार्फत बारा आइपुग्ने कार्यक्रम रहेको छ। अनुगमनका क्रममा उनले फास्ट ट्र्याकअन्तर्गत निर्माणाधीन विभिन्न सुरुङमार्ग, सडक खण्ड तथा पुलहरूको स्थलगत निरीक्षण गर्नेछिन्। साथै, आयोजनामा देखिएका प्राविधिक, व्यवस्थापकीय तथा वातावरणीय चुनौतीहरूबारे सम्बन्धित निकायका अधिकारीहरूसँग जानकारी लिने र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।
काठमाडौंलाई तराई–मधेससँग छिटो, सहज र सुरक्षित रूपमा जोड्ने उद्देश्यले निर्माण भइरहेको फास्ट ट्र्याक मुलुकको आर्थिक, सामाजिक तथा व्यापारिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। सरकारले यस आयोजनालाई उच्च प्राथमिकतामा राख्दै समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्री कार्की फास्ट ट्र्याक अनुगमनका लागि पहिलोपटक बारा जिल्ला आउन लागेकी हुन्। उनको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ भने आयोजना स्थलआसपासमा तयारी तीव्र पारिएको छ।
प्रधानमन्त्रीको यस अनुगमनले आयोजनामा देखिएका समस्या समाधानमा सहयोग पुग्ने, निर्माण कार्यलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।