प्रतिबन्ध र अमेरिकी आक्रमणको धम्कीले घेरिएको इरानका सर्वोच्च नेता अली होसेनी खामेनीलाई कडा सुरक्षा प्रदान गरिएको छ । तर, उनी बंकरमा भने नलुकेको तेहरानले प्रस्ट पारेको छ । मुम्बईस्थित इरानका कन्सुल जनरलले एक भारतीय समाचार संस्थालाई उक्त जानकारी दिएका हुन् । शनिबार एनडिटिभीसँग विशेष कुराकानी गर्दै मुम्बईस्थित इरानका कन्सुलर जनरल सइद रेजा मोसायब मोतलाघले विदेशी गुप्तचर एजेन्सीहरूले इरानको विरोध प्रदर्शनलाई भड्काएको आरोप लगाए । प्रतिबन्धको धम्कीका बाबजुद इरान र भारत दुवैले आफ्नो सहयोगलाई निरन्तरता दिन प्रयास गरिरहेको उनले बताए ।
‘तपाईंलाई थाहा भएकै कुरा हो, इरान आन्तरिक संकटको सामना गरिरहेको छ भनेर चित्रण गर्ने प्रयास भएका छन् । सुरक्षाबलले प्रदर्शनकारीप्रति लचिलोपन र आत्मसंयम देखाएका छन्,’ कन्सुलर मोतलाघले भने ।‘बिहीबार र शुक्रबारदेखि जब आतंकवादीहरूले इरानबाहिर रहेका आफ्ना मालिक र हाकिमबाट आदेश पाए, तिनीहरूले ठुला–साना धेरै ठाउँमा षड्यन्त्र र तोडफोड गरे । यसले हाम्रा केही नागरिकमा डर पैदा गर्यो र उनीहरूको सम्पत्तिमा क्षति पुर्यायो । दुर्भाग्यवश, कुल तीन हजार ११७ जना मारिए, जसमध्ये दुई हजार ४२७ जना नागरिक र सुरक्षा बल थिए र ६९० आतंककारी पनि मारिए,’ उनले दाबी गरे । विरोध प्रदर्शनमा विदेशी नागरिक संलग्न नभए पनि धेरै कम प्रतिशत व्यक्तिलाई विदेशी गुप्तचर सेवाद्वारा प्रशिक्षित गरिएको उनको भनाइ छ ।
यस क्षेत्रमा अमेरिकाले चालेका कदमबारे सोधिएको प्रश्नको जवाफमा उनले इरान पूर्ण रूपमा तयार रहेको घोषणा गरे । अमेरिकाले विमानवाहक स्ट्राइक समूह पठाउनेलगायत कदम चाल्ने बताएको छ । ‘हाम्रो देशले अहिलेसम्म देखेको कुनै पनि प्रकारको आक्रमणलाई रोक्न सक्ने शक्ति आफूसँग रहेको देखाएको छ । यसको एउटा उदाहरण १२ दिने युद्ध (गत वर्ष जुनमा इजरायलसँग)मा गरिएका कारबाही हो,’ उनले भने ।
‘प्रहरी र जनताको सहयोगमा दुई दिनमै यो अशान्ति नियन्त्रणमा ल्याइएको थियो । त्यसैगरी, यदि कुनै पनि शक्तिले इरानविरुद्ध आक्रामक कारबाही गर्न चाहन्छ भने हामी आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार छौँ, र हामी पूर्ण शक्तिका साथ प्रतिकार गर्नेछौँ,’ उनले भने । यसअघि इरानका सर्वोच्च नेता खामेनीले हालैका विरोध प्रदर्शनमा आफ्नो देशमा भएको ‘हताहत र क्षति’का लागि अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको आरोप लगाएका थिए । गत साता एक भाषणमा खामेनीले हालैका प्रदर्शनमा हजारौँ मानिस मारिएको स्वीकार गरे । तर, मृत्युको दोष ‘देशद्रोही’लाई दिए ।
इन्टरनेटमा सुधार
विरोध प्रदर्शनपछि इरानमा इन्टरनेट बन्दको विश्वभर आलोचना भएको छ । तर पछिल्ला दिनमा इन्टरनेट आंशिक रूपमा खुलाइएको छ । कुनै निश्चित समय इन्टरनेट बन्द गर्न आवश्यक भएको कन्सुलर जनरलले बताए । इन्टरनेट प्रयोग गरेर ‘विदेशी तत्वले अशान्ति फैलाइरहेका’ उनको भनाइ हो । ‘यद्यपि, हामी इन्टरनेटको अवस्था सुधार हुँदै गएको देखिरहेका छौँ र अधिकारीहरूले केही दिनभित्र इन्टरनेट पूर्ण रूपमा पुनस्र्थापित हुने वाचा गरेका छन्,’ उनले भने । तेहरान अहिले साइबर आक्रमणको चपेटामा परेको छ ।
खामेनी सार्वजनिक कार्यक्रममा नदेखिएको र बंकरमा लुकेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, यस्ता दाबीलाई तेहरानले अस्वीकार गरेको । सर्वोच्च नेताले भिडियो कन्फरेन्स र अन्य माध्यमबाट अधिकारीहरूसँग आवश्यक सबै बैठक गरिरहेको उनले बताए । ‘हामी कुनै पनि विदेशी शक्तिसँग डराउँदैनौँ । केही मानिसले अफवाह फैलाइरहेका छन् । खामेनी बंकरमा छैनन् ।’
एनडिटिभीबाट