०७२ को भूकम्पका कारण चर्किएर जोखिम अवस्थामा रहेको हनुमाढोका प्रहरी कार्यालयको पुरानो भवन भत्काइने भएको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पुरातत्व विभागका प्रतिनिधि र सम्पदाप्रेमीहरूले भवनको अवलोकन गर्दै भत्काउने निर्णयमा पुगेका हुन् । स्थानीय तथा सम्पदाप्रेमीले लामो समयदेखि जोखिमपूर्ण भवन भत्काएर सम्पदामैत्री भवन बनाउन दबाब दिँदै आएका थिए ।
अवलोकनपछि भवन एक साताभित्र भत्काउने र नयाँ बनाउन आवश्यक तयारी गर्ने सहमति भएको छ । प्रहरी भवन भत्काउन र अन्य आवश्यक योजना अघि बढाउन सम्पदाप्रेमी यादवलाल कायस्थको संयोजकत्वमा गृह मन्त्रालय, महानगरपालिका, पुरातत्व विभागलगायतको प्रतिनिधि रहने गरी एक–दुई दिनमै समिति गठन गरिनेछ । समितिले प्रहरी, महानगर र पुरातत्व विभागको सहायतामा भवन भत्काउनेछ । ‘एक साताभित्रै भवन भत्काउने भनेर निर्णय भएको छ, त्यसका लागि मेरो संयोजकत्वमा समिति बन्दै छ, त्यसमा प्रहरी, महानगर र पुरातत्वको प्रतिनिधि पनि रहनुहुन्छ,’ सम्पदाप्रेमी कायस्थले भने, ‘लामो पहलपछि बल्ल जोखिमपूर्ण भवन भत्काउने सहमति जुट्यो ।’
कायस्थका अनुसार यो स्थानमा मल्लकालीन सत्तल निर्माण गरिनेछ । सत्तल कलात्मक हुनेछ । दुईतले सत्तलको भुइँतलामा प्रहरी संग्रहालय र माथिल्लो तलामा प्रहरी सुरक्षा घर बनाइनेछ । त्यहाँ विश्वसम्पदा क्षेत्रको सुरक्षाका लागि सांस्कृतिक पोसाकमा सम्पदामैत्री प्रहरी परिचालन गरिनेछ । त्यहाँ सुरक्षामा बस्ने प्रहरीलाई सम्पदा क्षेत्रबारे समेत सिकाइने र तालिम दिइनेछ ।
भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा छ । सोही कारण पनि भवन प्रहरीले नै लगानी गरेर बनाउने योजना बनाइरहेको छ । यद्यपि, निर्माणका लागि बजेट धेरै आवश्यक पर्ने भएकाले त्यसमा पुरातत्व विभाग तथा काठमाडौं महानगरपालिकाले पनि आवश्यक सहयोग गर्ने मनसाय देखाएको नेपाल प्रहरीले जनाएको छ । सम्पदाप्रेमी कायस्थले भूकम्पमा जोखिम बनेको उक्त भवन भत्काउन चार वर्षदेखि पहल गर्दै आइरहेका थिए । तर, समन्वय नमिल्दा भवन भत्काउन सकिएको थिएन ।
कालभैरव मूर्तिको सामुन्ने रहेको हनुमानढोका प्रहरीको भवन अत्यन्तै जीर्ण अवस्थामा छ । यो भवनमा तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौं बस्थ्यो । हाल जिल्ला प्रहरी परिसर काठमाडौं टेकु हुँदै रामशाहपथस्थित सुविधासम्पन्न भवनमा सरिसकेको छ । ०१२ देखि ०७२ सम्म परिसरको कार्यालय हनुमानढोकामै थियो । ०७२ सालको भूकम्पका कारण हनुमानढोकास्थित कार्यालयमा क्षति पुगेपछि टेकुमा सरेको थियो । भूकम्पले चर्किएको भवनमा अहिले पनि सुरक्षार्थ अझै पनि केही प्रहरी बस्दै आएका छन् । तर, भवन भत्काउने भएपछि प्रहरीलाई अन्य ठाउँमा राखिनेछ ।