गत मंगलबार (जनवरी २०) मा ४६ वर्षीय नितिन नवीन औपचारिक रूपमा भारतको सत्तारूढ दल ‘भारतीय जनता पार्टी (भाजपा)’को अध्यक्ष नियुक्त भए । उनले भाजपा इतिहासको सबैभन्दा कम उमेरको अध्यक्षको रेकर्ड राखेका छन् । यसैतर्फ इंगित गर्दै भाजपाबाटै प्रधानमन्त्री रहेका नरेन्द्र मोदीले आफ्नो दल ‘अन्य दलभन्दा फरक’ रहेको बताए । तर, युवा नेता नियुक्त गर्दैमा भाजपा कसरी भारतका अन्य दलहरूबाट अलग हुन्छ ? उनको चयनमा कत्तिको लोकतान्त्रिक अभ्यास भयो ?
भारत स्वतन्त्र भएपछि लामो समय शासन गरेको कांग्रेसमाथि अक्सर वंशवादी भएको आरोप लाग्छ । भाजपाको मुख्य प्रतिद्वन्द्वी कांग्रेसमा अहिले गैरवंशवादी पृष्ठभूमिका अध्यक्ष छन् । तथापि लामो समय पार्टी अध्यक्षमा गान्धी परिवारका सदस्य रहे । भाजपाको एउटा विशिष्टता गैरवंशवादी पृष्ठभूमिबाट पार्टी अध्यक्षको नियुक्ति हो ।
भाजपाका पूर्वअध्यक्षरू अटल बिहारी वाजपेयी (१९८०–१९८६), लालकृष्ण आडवाणी (१९८६–१९९१; १९९३–१९९८; २००४–२००५), मुरली मनोहर जोशी (१९९१–१९९३), कुशाभाउ ठाकरे (१९९८–२०००), बंगारु लक्ष्मण (२०००–२००१), के. जन कृष्णमूर्ति (२००१–२००२), बेंकैया नायडू (२००२–२००४), राजनाथ सिंह (२००५–२००९; २०१३–२०१४), नितिन गड्करी (२००९–२०१३), अमित शाह (२०१४–२०), जगत प्रकाश (जेपी) नड्डा (२०२०–२६), र अहिले नितिन नवीन यसै श्रेणीमा पर्छन् ।
भाजपाले आफ्ना पार्टी प्रमुखहरू गैरवंशवादी पृष्ठभूमिबाट नियुक्त गरेको दाबी त गर्न सक्छ, तर तिनको नियुक्ति प्रक्रिया लोकतान्त्रिक भएको दाबी गर्न भने सक्दैन । खासमा अन्य भारतीय दलमा जस्तै भाजपामा पनि पार्टी प्रमुखको चयनमा ‘गेटकिपर’को प्रमुख भूमिका हुने गर्छ । त्यसले, गर्दा पार्टीमा चुनावी प्रतिस्पर्धा नै हुन पाउँदैन । दलको संगठनभित्र शक्तिशाली प्रभाव रहेका वरिष्ठ नेताहरूलाई ‘गेटकिपर’ भन्ने गरिन्छ, जसले नेतृत्व चयनलाई समेत प्रभावित बनाउँछन् ।
भारतका अधिकाश दलमा देखिने ‘हाइकमान्ड’ संस्कृति यही गेटकिपर श्रेणीमा पर्छ । हाइकमान्डरू पार्टीमाथिको नियन्त्रण गुम्ने डरले प्रायः चुनावको सट्टा मनोनयलाई जोड दिन्छन् । भाजपा पनि यसको अपवाद होइन । लगातार तीनवटा राष्ट्रिय चुनाव जितेको भए पनि यो दलले पार्टी नेतृत्वको चयन अप्रत्यक्ष चुनावबाटै गर्दै आएको छ । यसले पार्टीको लोकतान्त्रीकरणमा अझै सुधार गर्न बाँकी रहेको संकेत गर्छ ।
भारतमा अन्तरपार्टी लोकतन्त्र निकै कमजोर छ, जहाँ पार्टी प्रमुख कार्यकर्ताको मतबाट नभई वरिष्ठ नेताहरूले नियुक्त गर्छन्
स्वतन्त्र तथा निष्पक्ष चुनाव कुनै पनि आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त हो । यो कुरा दलभित्रको आन्तरिक चुनावमा पनि लागू हुन्छ । तर, दुर्भाग्यको कुरा, भारतमा दलभित्रको लोकतन्त्र निकै कमजोर अवस्थामा छ । पार्टीका शीर्ष नेताहरूको नियुक्तिमा पार्टीका कार्यकर्ताहरूले प्रत्यक्ष मतदान गर्न नपाउने अवस्थाले अन्तरपार्टी लोकतन्त्रलाई सीमित गर्छ । यसले पार्टीका प्रभावशाली वरिष्ठ पार्टी नेताहरू गेटकिपर बनिरहने बाटो खोलिदिन्छ ।
नितिन नवीनको सन्दर्भमा उनलाई पहिले पार्टीका अन्तरिम अध्यक्ष घोषणा गरिएको थियो । खासमा यो घोषणामार्फत पार्टीका वरिष्ठ नेताहरूको प्राथमिकता स्पष्ट गरिएको थियो । अब नितिनलाई शीर्ष नेतृत्वको अन्तरिम अध्यक्ष चुनिएपछि उनीविरुद्ध चुनौती दिनु भनेको उनलाई चयन गर्ने शीर्ष नेताहरूलाई पनि चुनौती दिनु हो भन्ने अरूले बुझिहाल्छन् । यस्तोमा शीर्ष नेतृत्वको क्रोधमा परिने डरले अन्य नेता प्रतिस्पर्धामै उत्रिन चाहँदैनन् । यो कुरा, पार्टी अध्यक्षको प्रतिस्पर्धामा उत्रिएपछि शशी थरुरले कांग्रेसका शीर्ष नेताहरूको आक्रोश भोगेकै सन्दर्भले थप प्रस्ट गर्छ । जबकि, पश्चिमी लोकतान्त्रिक देशमा नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका नेताले आफ्ना विपक्षीलाई कसरी समायोजन गर्ने भन्नेबारे पनि योजना बनाउने गर्छन् ।
भाजपा अध्यक्षका रूपमा नितिनको नियुक्तिपछि अहिले यस कदमपछाडिको रणनीतिबारे पनि बहस सुरु भएको छ । उनको नियुक्तिमा सबैभन्दा प्रमुख उनको उमेर र उनको जातीय पृष्ठभूमि हुन सक्छ । उनी कायस्थ समुदायबाट आएका हुन्, जसको पश्चिम बंगालमा उल्लेखनीय प्रभाव छ । भाजपाले पश्चिम बंगालको नजिकिँदै गरेको चुनावलाई महत्व दिएकाले सो समुदायमा आफ्नो प्रभाव विस्तार गर्ने हिसाबले नेता चयन गरेको हुन सक्छ ।
यी दुईबाहेक, उनको चयनपछाडि दुई अन्य कारण पनि हुन सक्छन् । एउटा त शक्तिको क्षेत्रीय सन्तुलन सिर्जना गर्ने । अर्को, मोदी र शाहको उदयसँगै, भाजपा गुजरातीहरूले चलाएको धारणा बढ्दै गएको अवस्थामा भाजपामा गुजरातीहरू हाबी भएको भन्ने आरोप सम्बोधन गर्न नितिनको चयन भएको हुन सक्छ । नितिनको बिहारी पहिचानले पार्टीमा क्षेत्रीय सन्तुलन सिर्जना गर्न सक्ने भाजपाको आकलन हुन सक्छ । उसले हालै आफ्नो संगठन महासचिवमा (जसको शक्ति अध्यक्ष बराबर नै मानिन्छ ) दक्षिण भारतका (कर्नाटक) राज्यका नेतालाई चुनेको छ ।
महासचिव दक्षिणबाट चुनेपछि अध्यक्ष उत्तर भारतबाट छानएिको हुन सक्छ । छोटकरीमा भन्दा भाजपाले नवीनको नियुक्ति प्रक्रियामा उसले आफ्नो पार्टी नेता चयनमा अझै पार्टीका वरिष्ठ नेतारूको मनोकांक्षालाई मुख्य महत्व दिएको र आफू पनि भारतीय राजनीतिक दलहरूजस्तै रहेको देखाएको छ ।
(अरविन्द ‘बढ्दो असमानता’ विषयमा लन्डन विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका छन्) द प्रिन्टबाट