जग्गाको विवादमा कुटपिट हुँदा मियाँको मृत्यु, पूर्व–पश्चिम लोकमार्गमा चक्काजाम

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

सिराहाको कर्जन्हा नगरपालिका- १०, मनहर्वा चोकनजिकको सार्वजनिक जग्गामा बनाएको घर भत्काएपछिको विवादको क्रममा स्थानीय एक व्यक्तिको मृत्यु भएको छ । 
मनहर्वा चोकनजिकै सडकछेउको सावर्जनिक जग्गामा घर बनाएर पछिल्लो ३० वर्षदेखि बसोवास गर्दै आएका करिब ५० वर्षीय अजमुद्दिन शेख मियाँलाई जग्गा दाबी गर्ने व्यक्तिसहित उनका सहयोगीहरूले कुटपिट गर्दा मृत्यु भएको हो ।

उनको मृत्युपछि आफन्त र स्थानीय बासिन्दाले आइतबार दिउँसो करिब ३ बजेदेखि पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मनहर्वा चोक खण्डमा शव राखी टायर बालेर चक्काजामसहित प्रदर्शन गरिरहेका छन् । मिर्चैया र बन्दीपुरबाट गएको प्रहरीले अवरुद्ध सडक खुलाउन प्रयास गरेको भए पनि स्थानीयले नाराबाजीसहित प्रदर्शन गरिरहेकाले यातायात सुचारु हुन सकेको छैन । 

कर्जन्हा नगरप्रमुख भोलाप्रसाद पोखरेलले मनहर्वा चोकको सार्वजनिक जग्गामा करिब ३० वर्षदेखि बसोवास गर्दै आएका मियाँको घरपछाडि जग्गा रहेका स्थानीय भरोसी गाइँले आफ्नो जग्गाको मुख थुनिएको भन्दै आइतबार बिहान फुसको घर भत्काइदिएको जानकारी दिए । उनका अनुसार घर भत्काएको ठाउँनजिकै पहिलेदेखि बनाउँदै आएको घर बनाउन खोज्दा हात हालाहालको स्थिति हुँदा गाइँसहित उनका सहयोगीले मियाँलाई कुटपिट गर्दै उठाएर थेचारेका थिए ।

गाइँले वर्षौंदेखि बस्दै आएको जग्गा खाली गराउन अदालतबाट निषेधाज्ञा ल्याएको भनिए पनि त्यो आदेश हेर्न नपाएको उनले बताए । ‘त्यो पत्र वडा कार्यालयलाई पनि पुगेको जानकारीमा छैन’ उनले भने । 

अदालतले तत्काल काम रोक्न मात्र आदेश दिएको भनिए पनि भरोसीसहित स्थानीय रामदयाल साह, दिनेश महासेठलगायतले आइतबार दिउँसो प्रहरीकै उपस्थितिमा घर भत्काएको मियाँका आफन्त स्थानीय मोहम्मद सद्दाम हुसेनले बताए । उनका अनुसार घर भत्काउन थालेपछि रोक्न खोज्दा गाइँसहित उनका सहयोगीहरुले मियाँलाई कुटपिट गरेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले कुटपिट लगत्तै मियाँको मृत्यु भएपछि घटनामा संलग्नहरू फरार भएकाले खोजी तीव्र बनाइएको र अवरुद्ध सडक खुलाउन प्रयास गरिरहेको बताए। 
 

सुझावित समाचार