राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एमाले–कांग्रेस गठबन्धन विजयी

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनीबाट एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

आइतबार दाङको घोराहीमा भएको निर्वाचनबाट नेपाली कांग्रेसका बासुदेव जंगली (दाङ) र चन्द्रबहादुर केसी (गुल्मी) तथा एमालेकी रामकुमारी झाँक्री (गुल्मी)ले विजय हासिल गरेका हुन्। अपांग क्लस्टरतर्फका जंगलीले ६३२२, खुल्ला क्लस्टरतर्फका केसीले ५९७७ र महिला क्लस्टरकी झाँक्रीले ६३३० मत प्राप्त गरेका छन्।

गठबन्धनका उम्मेदवारविरुद्ध नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निकटतम प्रतिस्पर्धी थिए। नेकपाबा अपांग क्लस्टरमा बाँकेका सर्जन बिकले १६०१, महिला क्लस्टरमा पाल्पाकी दुर्गा कुमारी भण्डारीले १३६२ र अन्य क्लस्टरमा नवलपरासी पश्चिमका बृहस्पति अधिकारीले १८३२ मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय जनमोर्चाका ‘अन्य’बाट प्युठानका बोमबहादुर खत्रीले १३३ र ‘महिला’बाट प्यूठानकै पदमा पण्डितले १४२ मत प्राप्त गरे।

लुम्बिनीमा तीन पदका लागि भएको निर्वाचनमा ८ जनाबिच प्रतिस्पर्धा भएको थियो। एमाले–कांग्रेस गठबन्धन बनाएर तथा नेकपा र राष्ट्रिय जनमोर्चा एकल रुपमा चुनावी मैदानमा थिए।

लुम्बिनीमा प्रदेश सभातर्फ ८३ र स्थानीय तहमा २१९ मतदाता रहेकोमा प्रदेश सभातर्फ ७८ र स्थानीय तहतर्फ २०८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार