सडकपेटी, पार्क र करिडोरमा नयाँ कुर्सी राख्दै काठमाडौं महानगर

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदी करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ। यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले बताए।

‘उमेर समूह, शारीरिक अवस्थाजस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ। यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन। एकरूपता कायम गराउन साटफेर हुन सक्छ,’ उनले भने।

यसअन्तर्गत सिंहदरबार–भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठमिश्रित कुर्सी मर्मत थालिएको छ। यस ठाउँमा दुई प्रकारका कुर्सी थिए। यीमध्ये पुराना बेन्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले बताए।

महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन्। दोस्रो चरणमा ४९ कुर्सी नापी विभाग, तीनकुने–कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर, बबरमहल, कलपोखरीलगायत स्थानमा राखिने राईले बताए। ‘ट्याक्टिकल अर्वानिजम’अन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी राखिनेछ। 

यसअघि महानगरले ०८१ असोजमा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सीको मूल्य करसहित १८ हजार ६५५ रुपैयाँ परेको महानगरले जनाएको छ। यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका छन्। यसबाहेक बागमती र बागमती नदी करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायतका ठाउँमा राखिएका थिए।

सुझावित समाचार