कपुरकोटमा स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी बिरामी लाभान्वित

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

सल्यानको कपुरकोट गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा ७३६ जनाले स्वास्थ्य सेवा लिएका छन्। दुई दिनसम्म चलेको आँखा, नाक, कान तथा घाँटी शिविरमा ७३६ जनाले सेवा लिएको कपुरकोट गाउँपालिकाले जनाएको छ।

शिविरमा सबैभन्दा धेरै आँखाका ५३५ जनाले सेवा लिएको कपुरकोट आधारभूत अस्पताल सल्यानका मेडिकल अफिसर डा. पारस शर्माले जानकारी दिए। उनका अनुसार ११२ जनालाई चस्मा वितरण गरिएको छ भने ५१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।

यस्तै नाक, कान घाँटीसम्बन्धी २०१ जनाले सेवा लिएका छन्। शिविरमा ११ जनालाई कानको अप्रेसन गर्नुपर्ने, १७ जनामा श्रवणयन्त्रको प्रयोग गर्नुपर्ने, २३ जनामा विभिन्न कारण कान पाक्ने समस्या, ६ जनामा कानको संक्रमण भई हड्डीमा समस्या भएका बिरामी पहिचान भएको शर्माको भनाइ छ।

पालिकाका दुर्गम बस्तीका स्थानीय विशेषज्ञ सेवा लिनका लागि दाङ नेपालगन्ज काठमाडौं जानुपर्ने बाध्यतालाई केही कम गर्न निःशुल्क शिविर सञ्चालन गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। पालिकावासीलाई घरनजिकै विभिन्न प्रकारमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पालिकाको दायित्वसमेत रहेको उनको भनाइ छ।

कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा बाँकेको प्राविधिक सहयोगमा दुईदिने शिविर सम्पन्न भएको हो।

सुझावित समाचार