राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार जारी मतदानमा हालसम्म ७५ प्रतिशतभन्दा बढी मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका अनुसार दिउँसोसम्म प्रदेश सभा र स्थानीय तह दुवैतर्फ मतदान उत्साहजनक देखिएको छ।
प्रदेश सभातर्फ हालसम्म ८२ जना सांसदले मतदान गरेका छन् । बागमती प्रदेश सभामा कुल ११० सदस्य भए पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ६ जना सांसदले राजीनामा दिएका कारण राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने योग्य प्रदेश सभा सदस्य संख्या १०४ रहेको छ ।
यस्तै, स्थानीय तहतर्फ २१९ जनाले मतदान गरिसकेका छन् । बागमती प्रदेशमा स्थानीय तहबाट कुल २३४ मतदाता रहेकामा तीनवटा नगरपालिकाका प्रमुखले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका छन् भने एक नगरप्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेकाले स्थानीय तहबाट चारजना मतदाता घटेका हुन् ।
निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएपछि आजै साँझ मतगणना गरिने प्रदेश निर्वाचन कार्यालय, हेटौँडाले जनाएको छ।
राप्रपा निर्वाचन प्रक्रियाबाट बाहिर
राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएको छैन । राप्रपाले उम्मेदवार उठाएन भने मतदान प्रक्रियामा पनि सहभागिता नभएको निर्वाचन कार्यालयले जनाएको छ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि ६ जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिचको दुईदलीय गठबन्धनअनुसार एमालेका प्रेम दंगाल अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन् भने महिला क्लस्टरबाट कांग्रेसकी गीता देवकोटा चुनावी मैदानमा छिन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अन्य क्लस्टरमा प्रेम सापकोटा र महिला क्लस्टरमा सरोजकुमारी झा उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।