सरस्वती पूजाकै दिन कञ्चनपुरको एक सामुदायिक विद्यालयका दलित शिक्षकमाथि जातीय विभेद भएको छ । कृष्णपुर नगरपालिका– १, दोमिल्लामा रहेको बैजनाथ आधारभूत विद्यालयका शिक्षक गजीराम सार्कीमाथि जातीय विभेद भएको हो ।
शिक्षक सार्कीले आफूमाथि सरस्वती पूजाकै दिन विद्यालयमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरकुमार भण्डारीले जातीय विभेद गरेको बताए । शिक्षक सार्कीले सरस्वती पूजाका दिन अध्यक्ष भण्डारीले अन्य शिक्षक, कर्मचारी, विद्यार्थीलाई टीका लगाइदिएको र आफूलाई अलग्गै पातमा टीका दिएर विभेद गरेको बताए ।
आफूमाथि जातीय विभेद भएपछि कारबाहीका लागि नेपाल शिक्षक महासंघ कृष्णपुर नगरमा निवेदन दिएको बताए । यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरकुमार भण्डारीले शिक्षक गजीराम सार्कीले निहुँ खोजेको बताए । ‘पण्डितजी देवदत्त भट्टले पातमा टीका निकालेर मलाई दिए, अनि मैले नै शिक्षकलाई टीका लगाइदिएको हुँ,’ उनले भने, तर, अहिले आफूमाथि किन जातीय विषय अघि सारिरहेका छन्, मलाई थाहा भएन ।’ हामी सँगै बस्ने खाने हो, तर उनले मलाई किन यस्तो आरोप लगाए आफूपनि अचम्मित भएको उनले बताए ।
नेपाल शिक्षक महासंघ कृष्णपुरका अध्यक्ष पुरनसिंह बोगटी, सहअध्यक्ष दीपक भट्ट र सचिव गणेशराम सार्कीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कानुनी कारबाहीको माग अघि सारिएको छ ।